जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार २१:०७

फोटो मात्रै होइन, एआईमा अपलोड हुन्छ तपाईंको गोप्य सूचना पनि


काठमाडौं, भदौ २६ । पछिल्लो समय सामाजिक सञ्जालमा ८० को दशकको शैलीमा एआईबाट फोटो बनाउने ट्रेण्ड बढेसँगै साइबर सुरक्षा जोखिमबारे पनि चिन्ता बढ्न थालेको छ ।

आफ्नो वास्तविक फोटो एआई च्याटबट वा अन्य एपमा अपलोड गरेर नयाँ शैलीमा रूपान्तरण गर्ने क्रम बढेको हो । केही मिनेटमै आकर्षक फोटो तयार हुने भएकाले धेरै प्रयोगकर्ताले यस्ता फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

तर, एआईमा फोटो अपलोड गर्दा फोटो मात्र नभई त्यससँग जोडिएका विभिन्न सूचना पनि संकलन हुन सक्ने साइबर सुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

वायर्ड पत्रिकाको एक प्रतिवेदनअनुसार फोटोमा मेटाडाटा लुकेको हुन सक्छ । यसबाट फोटो कहिले खिचिएको, कुन उपकरण प्रयोग गरिएको र कतिपय अवस्थामा कहाँ खिचिएको जस्ता विवरणसमेत खुल्न सक्छन् । त्यस्तै, अनुहारबाट व्यक्तिको विशिष्ट पहिचानसम्बन्धी सूचना पनि प्राप्त हुन सक्ने बताइएको छ ।

प्रतिवेदनमा साइबर सुरक्षा विशेषज्ञ क्रिस्टिना पोपरले एआई च्याटबटले फोटोसँगै प्रयोगकर्ताको आईपी एड्रेस, डिभाइसको नाम तथा अन्य प्राविधिक विवरणसमेत संकलन गर्न सक्ने बताउनुभएको छ ।

एआईमा अपलोड गरिएका फोटो र अन्य सामग्री कति समयसम्म सुरक्षित रहन्छ भन्ने सम्बन्धित कम्पनीको डेटा रिटेन्सन नीतिमा निर्भर हुने बताइएको छ । प्रतिवेदनमा विभिन्न एआई सेवाले प्रयोगकर्ताका च्याट तथा अपलोड गरिएका सामग्री निश्चित अवधिसम्म सुरक्षित राख्न सक्ने उल्लेख छ ।

यस्ता विवरणबाट एआई कम्पनीहरूले प्रयोगकर्ताको बानी, रुचि र पेसालगायतका विषय समेटिएको प्रोफाइलसमेत तयार गर्न सक्ने साइबर सुरक्षा विज्ञहरूको भनाइ छ ।

त्यसैले सामाजिक सञ्जालको ट्रेण्डकै लागि संवेदनशील वा व्यक्तिगत फोटो एआईमा अपलोड नगर्न र आवश्यक नभएका पुराना च्याट तथा फाइलहरू मेटाउन सुझाव दिइएको छ ।

एआई एपहरू अनिवार्य रूपमा असुरक्षित हुन्छन् भन्ने नभए पनि व्यक्तिगत सूचना र गोपनीयताको दृष्टिले पूर्ण रूपमा जोखिमरहित नरहेको भन्दै प्रयोगकर्तालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।