जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार २०:३२

राप्रपाको काठमाडौं अध्यक्षमा लिङ्देननिकट दीपक केसी विजयी


काठमाडौं, भदौ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौं जिल्ला अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न जिल्ला अधिवेशनबाट केसीले ३९० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे भने अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत पाए ।

नवनिर्वाचित अध्यक्ष केसी राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वसंयोजक हुन् । उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देननिकट नेताका रूपमा चिनिन्छन् ।

ज्ञानेन्द्र शाही निकट उम्मेदवार पौडेल ३४ मतसहित तेस्रो स्थानमा रहे ।

काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भएसँगै राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाको संख्या ५४ पुगेको छ ।