काठमाडौं, भदौ २९ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का ६ दिनदेखि बेपत्ता भएका छन् ।
खड्का भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका थिए । साँझसम्म घर फर्किने बताएका खड्का अहिलेसम्म सम्पर्कमा नआएपछि परिवार, आफन्त र स्थानीयवासीले खोजी गरिरहेका छन् ।
डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सीमामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ । मोबाइल नेटवर्कसमेत नहुँदा खोजीकार्य तथा आपसी सम्पर्कमा समस्या भइरहेको खड्काका काका फिट्टु खड्काले बताउनुभयो ।
छ दिन बितिसक्दा पनि खड्काको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवार थप चिन्तित बनेको छ ।
परिवारले खड्काको खोजीलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ । आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म प्रविधिको प्रयोग गरेर खोजी गर्न परिवारले अपिल गरेको छ ।














प्रतिक्रिया दिनुहोस्