काठमाडौं, भदौ २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्न नदिएको विषयलाई लिएर दुर्गा प्रसाईं र प्रहरीबीच तनाव भएको छ ।
झापाबाट काठमाडौं फर्किएका प्रसाईंलाई विमानस्थल परिसरमा पत्रकारसँग कुराकानी गर्न प्रहरीले रोक लगाएपछि उनी आक्रोशित भएका हुन् । विमानस्थलमा प्रसाईंको प्रतीक्षामा रहेका युट्युबर तथा समर्थकसमेत जम्मा भएका थिए ।
प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गर्दै समर्थकसहित विमानस्थलबाट बाहिरिएका थिए । त्यस क्रममा प्रहरीसँग घम्साघम्सीसमेत भएको थियो ।
घम्साघम्सीका क्रममा नागरिक बचाउ महाअभियानका बाग्मती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
महाअभियानका नेता माधव खतिवडाले प्रसाईंको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । एक व्यक्तिसँग राज्य डराएको भन्दै उहाँले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउनुभएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले भने प्रसाईंलाई पक्राउ नगरिएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार प्रसाईंलाई विमानस्थलबाट सुरक्षित रूपमा घर पठाइएको हो ।














प्रतिक्रिया दिनुहोस्