जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार २०:२९

महेश बस्नेतको दाबी–बल्थली बैठकले अध्यक्ष परिवर्तनको हल्ला अन्त्य गर्‍यो


काठमाडौं, भदौ २९ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बल्थली बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई परिवर्तन गर्ने विषयमा फैलाइएको भ्रम र हल्ला अन्त्य गरेको दाबी गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको पनौतीस्थित बल्थलीमा दुई दिन बसेको कार्यदलको बैठकले अध्यक्ष परिवर्तनको विषयमा फैलाइएको हल्ला चिर्दै पार्टीको कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजगीबारे गम्भीर छलफल गरेको उहाँले बताउनुभएको छ ।

बस्नेतका अनुसार वर्तमान सरकारका अधिनायकवादी, फासिवादी तथा जनविरोधी गतिविधिको विरोध गर्दै जनताको पक्षमा दृढ, एकताबद्ध र जुझारु संगठन निर्माण गर्ने विषयमा प्राप्त सुझावमाथि पनि बैठकमा छलफल भएको थियो ।

कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका दुवै मस्यौदा प्रस्तावलाई बैठकमा प्राप्त सुझावका आधारमा अन्तिम रूप दिने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदल संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दिइएको बस्नेतले बताउनुभएको छ ।