काठमाडौं, भदौ ३० । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री गुरुङको सम्पत्ति, शेयर लगानी तथा व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नमा गरिएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो।
उहाँले जनताले गृहमन्त्रीको सम्पत्ति, आम्दानीको स्रोत, ऋण, शेयर लगानी र बैंक मौज्दातलगायत विषयमा गरिएको छानबिनको निष्कर्ष जान्न पाउनुपर्ने बताउनुभएको छ।
स्वार्थको द्वन्द्व नहोस् र आफूमाथि निष्पक्ष छानबिन होस् भन्दै गृहमन्त्री गुरुङले वैशाख ९ गते राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिले गृहमन्त्री गुरुङको सम्पत्ति, आम्दानीको स्रोत, ऋण, शेयर लगानी तथा बैंक मौज्दातलगायत विषयमा अध्ययन गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भए पनि हालसम्म सार्वजनिक भएको छैन।
प्रतिवेदन सार्वजनिक नगरी गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरिनुले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठेको सांसद केरुङले बताउनुभएको छ।
उहाँले छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले गृहमन्त्री गुरुङलाई निर्दोष ठहर गरेको भए त्यसको आधार, प्रमाण र बयानसमेत सार्वजनिक गर्न माग गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्