जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार २१:१६

चन्द्रमामा २२२ मिटर चौडा नयाँ विशाल खाल्डो भेटियो


काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल ‘क्रेटर’ अर्थात् खाल्डो पत्ता लगाएको छ।

‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर चन्द्रमामा धूमकेतु वा क्षुद्रग्रह ठोक्किएपछि बनेको वैज्ञानिकहरूको अनुमान छ। समाचार संस्था एएफपीका अनुसार यति ठूलो क्रेटर बनाउने स्तरको प्रभाव चन्द्रमामा करिब एक शताब्दीमा एक पटक वा त्योभन्दा लामो अन्तरालमा हुने अनुमान गरिएको छ।

नासाका अनुसार सन् २०२४ को वसन्तमा ३ देखि ६ तले भवनजत्रो वस्तु चन्द्रमाको सतहमा ठोक्किएपछि म्याकगेचिन क्रेटर बनेको हुन सक्छ।

नासाको लुनार रिकोनिसन्स अर्बिटर (एलआरओ) का अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नयाँ तस्वीर र स्क्यानको अध्ययन गर्ने क्रममा उक्त क्रेटर पत्ता लगाएका हुन्।

‘साइन्स एड्भान्सेस’ जर्नलमा प्रकाशित अध्ययनअनुसार म्याकगेचिन सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा ठूलो नयाँ क्रेटर हो।

वैज्ञानिकहरूका अनुसार नयाँ क्रेटरको अध्ययनबाट चन्द्रमाको भूगर्भीय संरचना र क्रेटर निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सकिनेछ। यसले भविष्यमा हुने चालकदलसहितका चन्द्र अभियानको तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अमेरिका र चीनले चन्द्रमामा मानव अभियान सञ्चालन गर्ने योजना अघि बढाइरहेका छन्। पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल चन्द्रमामा नभएकाले अन्तरिक्षबाट आउने धूमकेतु, क्षुद्रग्रह तथा अन्य भग्नावशेष उच्च गतिमा सतहमा ठोक्किने गर्छन्। यस्ता प्रभावका कारण चन्द्रमामा विभिन्न आकारका क्रेटर बन्ने गरेका छन्।