जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार २०:१७

सरले मलाई … भन्दै छात्राले रुँदै सुनाइन पीडा, उदाङ्गियो गुरुको हर्कत


सिन्धुली, असोज २ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३, झाँगाझोलीस्थित श्री मावि गुठबजार स्कूलका एकजना शिक्षकमाथि विद्यालयकी एक छात्रालाई यौन दुर्ब्यवहार गरेको आरोप लागेको छ ।

उनले भदौ २८ गते गरेको उक्त हर्कत पीडित छात्राले स्कूलमा रुँदै एक शिक्षिकालाई बताएपछि खुलेको हो । परिवारका सदस्यका अनुसार काम विशेषले पीडित बालिकाका अभिभावक ४–५ दिनदेखि घरमा थिएनन् । रातको समयमा उनलाई साथीको रुपमा काकाका छोराछोरी सुत्न आउने गरेका थिए ।

भदौ २८ गते तीजको दर खाने दिन बेलुका भञ्ज्याङको एक होटलमा सर मादक पदार्थ सेवन गरेर बसिरहेका थिए । आफ्नो घरबाट नजिकै रहेको उक्त पसलमा बालिका साँझ ७ बजे एक्लै सामान किन्न पुगिन् । झपक्क रात परिसकेको समयमा शिक्षकले बालिकालाई देख्नेबित्तिकै बाहिर आएर अनेक प्रस्ताव राख्न थाले ।

बालिकाका अनुसार उनले जबर्जस्ती १०० रुपैयाँ गोजीमा राखिदिएर राति घरमा सुत्न आउन प्रस्ताव गरे । उनले भन्नै नमिल्ने र बोल्नै नमिल्ने अन्य प्रस्तावसमेत राखेको बालिकाले रुँदै शिक्षिकालाई बताइन् । पैसा गोजीमा हालिदिने निहुँमा उनले जबर्जस्तीको प्रयास त्यहीँ गरेकाले बालिका भागेर घरतिर लागेकी थिइन् ।

साथीको हिम्मतले खुल्यो पोल

उनले आफूले भोग्नुपरेको दुर्व्यवहार र शिक्षकले राखेको प्रस्ताव कक्षाकोठाकी एक साथीलाई सुनाइन् । ती साथीले नै उनलाई उक्त कुरा दबाउन नहुने र बोल्नुपर्ने भन्दै साथमा लिएर शिक्षिकालाई सुनाउन लगाइन् । त्यसपछि बाल क्लबमार्फत उक्त विषयमा उनीहरूले सिविन,पालिका र अन्य निकायमा उजुरी गरिसकेका छन् ।

यस विषयमा विद्यालयका अन्य शिक्षक भने खुलेर बोल्न मानेनन् । सुनकोशी गाउँपालिकाका कार्यकारी अधिकृत शिवराज पौडेलले आधिकारिक उजुरी नआए पनि हल्ला सुनेको र सम्बन्धित शिक्षकलाई शिक्षा समितिमा बोलाएर सोधपुछ गरिने तथा आवश्यकताअनुसार कारबाही गरिने बताउनु भएको छ ।