जनता टाइम्स

४ आश्विन २०८३, आईतवार १८:२८

राष्ट्रसंघ महासभाको तयारी गर्न सरकारलाई रास्वपाको नीतिगत निर्देशन


काठमाडौं, असोज ४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभाका लागि आवश्यक तयारी गर्न नीतिगत निर्देशन दिएको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले महासभामा नेपालको सहभागितासम्बन्धी विषयमा यस्तो निर्णय गरिएको जानकारी दिनुभएको छ ।

रास्वपाले महासभामा नेपालको सहभागिता जनाउँदा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक विषय, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालको भूमिकाका विषयलाई सम्बोधनमा प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ ।

पार्टीले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको प्रतिनिधिमण्डललाई नेपालको राष्ट्रिय हित र समसामयिक विषय केन्द्रित भएर महासभाको तयारी गर्न निर्देशन दिएको जनाएको छ ।

रास्वपा सचिवालय बैठकले समसामयिक राजनीतिक तथा अन्य विषयमा समेत छलफल गरी विभिन्न निर्णय गरेको छ ।