जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १८:११

बसमा आगलागीपछि राहदानी वितरण रोकियो


काठमाडौं, असोज ५ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी भएपछि राहदानी छपाइ तथा वितरण सेवा प्रभावित भएको छ।

सोमबार चालकले बसभित्रै आगो लगाएपछि भएको आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत् तथा इन्टरनेट सेवामा अवरोध सिर्जना भएको विभागले जनाएको छ। विद्युत् र इन्टरनेट सेवा प्रभावित भएपछि राहदानी छपाइ तथा वितरण कार्य रोकिएको हो।

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले सूचना जारी गर्दै राहदानीका लागि आवेदन दिइसकेका सेवाग्राहीलाई धैर्यधारण गरी सहयोग गरिदिन आग्रह गरेको छ।

प्राविधिक समस्याका कारण राहदानी वितरणमा बाधा पुगे पनि नयाँ आवेदन संकलनको काम भने पूर्ववत् रूपमा सञ्चालन हुने विभागले जनाएको छ।

आगलागीबाट उत्पन्न समस्या समाधान भएपछि राहदानी वितरण सेवा पुनः नियमित हुने विभागले स्पष्ट पारेको छ।