जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १८:१५

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभाबाट पारित


काठमाडौं, असोज ५ । राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित छलफल भएको थियो। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकले बालबालिकाको अधिकार र हितलाई प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँका अनुसार सरकारले आवश्यक ठानेमा राष्ट्रिय आवश्यकताका आधारमा नेपाली नागरिक वा संस्थालाई समेत राष्ट्रिय सेवा दलमार्फत तालिम दिन तथा राष्ट्र सेवामा परिचालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ।

मन्त्री गौतमले संविधानको सीमाभित्र रहेर बालबालिकाको हितलाई केन्द्रमा राखी विधेयक तयार गरिएको बताउनुभयो। सेवा दलमा सहभागी बालबालिकाको मानसिक तथा शारीरिक अवस्थालाई ध्यानमा राखेर तालिमका विषय र निश्चित मापदण्ड तय गरिने उहाँले स्पष्ट पार्नुभयो।

विधेयकअनुसार विद्यार्थी अध्ययनरत विद्यालय तथा राष्ट्रिय सेवा दलका शिक्षालयमा तालिम सञ्चालन हुनेछ।

तालिम पूरा गरेका विद्यार्थीलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रण तथा पर्यावरण संरक्षणलगायतका क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गर्न सकिने व्यवस्था गरिएको मन्त्री गौतमले जानकारी दिनुभयो।