जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १८:२२

बिरामी देखेर चिकित्सकले अस्पताल छाड्दैन, संकटका बेला नेताले संगठन छोड्दैन : ओली (पूर्णपाठ)


काठमाडौं, असोज ५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले पछिल्लो आम निर्वाचनमा व्यहोरेको पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताउनुभएको छ। तर जिम्मेवारी लिनु भनेको संकटका बेला नेतृत्व छाडेर भाग्नु नभएको उहाँले स्पष्ट पार्नुभएको छ।

सोमबार ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पार्टीलाई पुनर्जागरण र पुनरुत्थानको बाटोमा अघि बढाउने बताउनुभएको हो। बैठक असोज ५ देखि ७ गतेसम्म चल्ने तय भएको छ।

उहाँले भन्नुभएको छ, ‘बिरामी देखेर चिकित्सकले अस्पताल छाड्दैन, बालीमा रोग देखेर किसानले खेत छाड्दैन।’ संकटका बेला नेतृत्वले संगठनलाई अनिश्चयमा छाड्न नहुने उहाँको भनाइ छ।

ओलीले निर्वाचनमा भएको पराजयलाई कुनै एक व्यक्ति वा एउटा कारणमा मात्र सीमित गरेर हेर्न नहुने बताउनुभएको छ। संगठन सुदृढीकरणमा कमजोरी, कमिटीहरू औपचारिकतामा सीमित हुनु, जनतासँग प्रत्यक्ष संवाद घट्नु, उम्मेदवार छनोटमा भएका त्रुटि, आन्तरिक अन्तर्विरोध तथा अन्तर्घातलगायत कारणले निर्वाचन परिणाम प्रभावित भएको उहाँको विश्लेषण छ।

युवाको अपेक्षा र बदलिँदो सामाजिक परिवेशअनुसार पार्टीले रोजगारी, अवसर, प्रविधि, उद्यम तथा द्रुत परिणामका विषयलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको पनि ओलीले उल्लेख गर्नुभएको छ।

सामाजिक सञ्जालमा फैलिने सूचना तथा अफवाहको तथ्यपूर्ण प्रतिवाद गर्न पार्टीको प्रचार संयन्त्र प्रभावकारी बन्न नसकेको उहाँको भनाइ छ।

पार्टीभित्र उठिरहेको पुनर्गठनको मागप्रति असहमति जनाउँदै ओलीले तत्काल नेतृत्व परिवर्तनको मागलाई ‘बेमौसमी बाजा’को संज्ञा दिनुभएको छ। पुस्तान्तरण उमेरको अंकगणित मात्र नभई अनुभव, ऊर्जा, ज्ञान र राजनीतिक संस्कृतिको योजनाबद्ध हस्तान्तरण हुनुपर्ने उहाँले बताउनुभएको छ।

उहाँले कम उमेर हुनु मात्र योग्यता र बढी उमेर हुनु मात्र अयोग्यता नभएको भन्दै अनुभव र ऊर्जाको संयोजनबाट पार्टीलाई अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ।

भदौ २३ र २४ गते भएका हिंसात्मक घटनालाई उल्लेख गर्दै ओलीले संसद् भवन तथा नेताहरूका निजी आवासमा भएको आगजनी र लुटपाटलाई क्रान्तिका रूपमा स्वीकार गर्न नसकिने बताउनुभएको छ। युवाका बेरोजगारी, महँगी, ऋण तथा अवसरको अभावसँग जोडिएका असन्तुष्टि सम्बोधन गर्नुपर्ने भए पनि त्यस्ता असन्तुष्टिलाई हिंसात्मक दिशामा लैजान नहुने उहाँको भनाइ छ।

ओलीले पार्टीका लागि तत्काल दुई प्रमुख कार्यभार रहेको बताउनुभएको छ। संसद्, न्यायालय, प्रेस तथा नागरिक स्वतन्त्रताको रक्षा गर्दै विधिको शासनका लागि राजनीतिक तथा कानुनी संघर्ष जारी राख्ने र आगामी निर्वाचनका लागि स्थानीय तहदेखि नै योजनाबद्ध तयारी गर्ने उहाँले बताउनुभएको छ।

यसका लागि उहाँले १५ बुँदे संगठनात्मक कार्यदिशासमेत अघि सार्नुभएको छ।

ओलीले एमाले विगतको गौरवमा मात्र निर्भर नभई भविष्यको स्पष्ट योजना र जनताको विश्वास पुनर्निर्माण गरेर अघि बढ्ने बताउनुभएको छ। केन्द्रीय कमिटी बैठकमा उहाँको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले छलफल गर्ने कार्यसूची छ।