जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार ०७:२२

चीनले अन्तरिक्ष केन्द्रमा १४ प्रजातिका बाली हुर्कायो


काठमाडौं। चीनले अन्तरिक्षमा मानव बसोबासलाई दीर्घकालीन बनाउने उद्देश्यसहित आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’मा विभिन्न बाली तथा वनस्पति उत्पादनको प्रयोग अघि बढाएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अन्तरिक्ष केन्द्रमा अहिलेसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति तथा खाद्य बाली सफलतापूर्वक उत्पादन गरिएको छ ।

अन्तरिक्ष केन्द्रमा अहिले सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँलगायतका बाली हुर्काइएका छन् । बिरुवालाई विशेष माध्यम, पोषक तत्वयुक्त पानी तथा हावामा आधारित प्रविधिबाट उत्पादन गर्ने गरिएको छ ।

वैज्ञानिकहरूका लागि गहुँ खेतीलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । गहुँले अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पूरा गरेको छ भने पहिलो उत्पादनबाट प्राप्त बीउबाट लगाइएको दोस्रो चरणको गहुँ पनि कटानीको नजिक पुगेको छ ।

अन्तरिक्षमा बाली उत्पादनको यो प्रयोगले भविष्यमा पृथ्वीबाट निरन्तर खाद्यान्न तथा बीउ पठाउनुपर्ने निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । चीनले अन्तरिक्षमा हावा, पानी र खाद्य पदार्थ पुनःउत्पादन गर्न सकिने ‘नियन्त्रित जीवन–समर्थन प्रणाली’ विकासमा समेत काम गरिरहेको छ ।

चीनले सन् २०३० सम्ममा मानवसहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेको छ । त्यसपछि चन्द्रमाको सतहमा ‘तरकारी बगैँचा’ स्थापना गर्ने दीर्घकालीन योजनासमेत अघि बढाइएको छ । यस्तो प्रविधिले चन्द्रमामा लामो समय बस्ने अन्तरिक्षयात्रीलाई ताजा खाद्यान्न उपलब्ध गराउन सहयोग पुग्ने वैज्ञानिकहरूको अपेक्षा छ ।