काठमाडौं, असोज ७ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै महाधिवेशनको तयारी तीव्र बनाउँदै ६० जिल्लामा निर्वाचन संयोजक तोकेको छ ।
संस्थापनइतर पक्षको सचिवालय समन्वय समितिले महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनलाई लक्षित गर्दै अधिकांश जिल्लामा निर्वाचन संयोजक तोकेको हो ।
केही जिल्लामा भने निर्वाचन संयोजक तोक्न बाँकी रहेको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही प्रदेशका एक–दुई जिल्लामा मात्र संयोजक तोक्न बाँकी छ ।
“धेरै जिल्लामा संयोजक तोकिसकेका छौँ । अब केही प्रदेशका एक–दुई जिल्ला मात्र बाँकी होला,” कुइँकेलले बताउनुभयो ।
असोज १५ गतेदेखि हुने वडा अधिवेशनका लागि आवश्यक तयारी अघि बढाइएको उहाँले बताउनुभयो ।
संस्थापनइतर पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने घोषणा गरेको छ । महाधिवेशनको प्रारम्भिक प्रक्रियाअन्तर्गत वडा तहबाटै अधिवेशन अघि बढाउने तयारीअनुसार जिल्ला निर्वाचन संयोजक तोकिएको हो ।
कांग्रेसको संस्थापन पक्षले पनि आफ्नै प्रक्रियाअनुसार महाधिवेशनको तयारी अघि बढाइरहेको अवस्थामा संस्थापनइतर पक्षले समानान्तर रूपमा संगठनात्मक गतिविधि अगाडि बढाएको हो ।












प्रतिक्रिया दिनुहोस्