जनता टाइम्स

७ आश्विन २०८३, बुधबार २०:४१

८८ चिनियाँ नागरिकको भिसा रद्द, जरिवानासहित निष्कासनको प्रक्रिया अघि बढाइयो


काठमाडौं, असोज ७ । व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरिएको छ । उनीहरूलाई जरिवाना गराएर निष्कासनको प्रक्रिया अघि बढाइएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका–४, साहानस्थित जियान फुड्स प्रालिमा कार्यरत ती चिनियाँ नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर काम गरेको पाइएको अध्यागमन स्रोतले जनाएको छ ।

चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने परियोजनाअन्तर्गत निर्माणाधीन उक्त उद्योगमा चीनको छेङ्दु तियान फुड लिमिटेडको आर्थिक साझेदारी रहेको छ ।

अध्यागमन विभागले सम्बन्धित निकायसँगको समन्वयमा गरेको अनुगमनका क्रममा केही विदेशी नागरिक भिसा सिफारिस तथा स्वीकृतिसँग सम्बन्धित व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिका रोजगारी, श्रम तथा अन्य कार्यमा संलग्न रहेको पाएको जनाएको छ ।

भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि उनीहरूको व्यावसायिक भिसा रद्द गरी अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना तथा निष्कासनको प्रक्रिया अघि बढाइएको हो ।

अध्यागमन नियमावली, २०५१ अनुसार व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएका हुन्, त्यही उद्देश्यअनुसार नेपालमा बस्नुपर्ने व्यवस्था छ । व्यावसायिक भिसा रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न पाइँदैन ।

अध्यागमन विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तअनुसार मात्रै गतिविधि गर्न आग्रह गर्दै आएको छ । साथै, उद्योग, कम्पनी तथा रोजगारदातालाई उपयुक्त भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा नलगाउन निर्देशन दिँदै आएको छ ।