काठमाडौं, असोज ८ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गरी तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
दाहालकी छोरी डेनिका दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो।
सर्वोच्चले दाहाललाई हिरासतमा राखिराख्नुपर्ने पर्याप्त आधार र कारण नदेखिएको भन्दै आजैदेखि तारेखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ। दाहालको बयान असोज ६ गते नै सम्पन्न भइसकेको र अनुसन्धानलाई निरन्तरता दिनुपर्ने भए तारेखमा राखेर अनुसन्धान गर्न सकिने सर्वोच्चको आदेशमा उल्लेख छ।
दाहाललाई प्रहरीले असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। उहाँमाथि सामाजिक सञ्जाल तथा आफ्नै युट्युब च्यानलमार्फत भूराजनीतिक तथा समसामयिक विषयमा भ्रामक सामग्री प्रसारण तथा प्रकाशन गरेको आरोपमा साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो।
दाहालले अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ले नेपालमा भएको जेनजी आन्दोलनबारे सार्वजनिक गरेको रिपोर्ट सामाजिक सञ्जालमा सेयर गर्नुभएको थियो। त्यसै विषयलाई लिएर उहाँमाथि अनुसन्धान अघि बढाइएको जनाइएको छ।
यसअघि सर्वोच्चले दाहाललाई पक्राउ गर्नुको आधार र कारणसहित अनुसन्धानसम्बन्धी कागजात पेस गर्न तथा उहाँलाई अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो।












प्रतिक्रिया दिनुहोस्