जनता टाइम्स

९ आश्विन २०८३, शुक्रबार ०७:०८

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता


काठमाडौँ, असोज ९ । प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसङ्घको मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे महासचिव गुटेरेससँग भेटवार्ता गर्नुभएको हो।

भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो। जलवायु परिवर्तनसम्बन्धी मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको उहाँले बताउनुभएको थियो।

महासचिव गुटेरेसले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गर्नुभएको थियो। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै उहाँले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाउनुभएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिनुभएको थियो। उहाँले महासचिव गुटेरेसको सफल कार्यकालका लागि शुभकामना तथा बधाई दिनुभएको थियो।

प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो जनधनको क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभएको थियो।

भेटमा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। त्यसैगरी, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत छलफल भएको थियो।