जनता टाइम्स

९ आश्विन २०८३, शुक्रबार ०९:३६

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता


काठमाडौँ, असोज ९ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा न्यूयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा भेटवार्ता भएको छ।

महासभाको साइडलाइनमा भएको द्विपक्षीय भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि जारी उद्धार, राहत, पुनःस्थापना एवं पुनर्निर्माणका प्रयासबारे अस्ट्रेलियाकी विदेशमन्त्री वोङलाई जानकारी गराउनुभएको थियो।

उहाँले विपद्पछिको संकटमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग तथा ऐक्यबद्धताका लागि धन्यवादसमेत व्यक्त गर्नुभएको थियो।

भेटवार्तामा नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।