काठमाडौं, असोज ११ । विगत तीन दिनदेखि लगातार भइरहेको अविरल वर्षाका कारण भक्तपुरकाे सूर्यविनायक नगरपालिका–४ र ५ को सिमानाबाट बग्ने घट्टे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा कटान गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले बाढीबाट प्रभावित तथा कटान भएका क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले विपद्का कारण उत्पन्न जोखिमलाई तत्काल सम्बोधन गर्न आवश्यक संरक्षण तथा व्यवस्थापनका काम अघि बढाइने बताउनुभयो। मुख्यमन्त्रीले प्रभावित क्षेत्रको तत्काल संरक्षण तथा आवश्यक व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको विपद् कोषबाट रु. २ करोड बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले विपद्को समयमा नागरिकको सुरक्षा, जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वाधारको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै तत्काल आवश्यक कदम चालिने उल्लेख गर्नुभयो।
बाढी तथा कटानबाट थप क्षति हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्थापन तथा संरक्षणका कामलाई तीव्रता दिइने मुख्यमन्त्री थापाको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्