रामेछाप, असोज १२। वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएकी रामेछाप नगरपालिका–६, अख्रेनीकी २० वर्षीया उजेली विकको परिवारलाई नेकपा एमालेले खाद्यान्न सामग्री सहयोग गरेको छ।
नेकपा एमाले रामेछाप नगर कमिटी तथा रामेछाप नगर–काठमाडौं सम्पर्क कमिटीले आज विकको घरमै पुगेर परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।
एमाले रामेछाप नगरपालिका कमिटीका अध्यक्ष रोशन पाख्रिनका अनुसार मृतक विकको परिवारलाई १० बोरा चामलसहित दाल, तेललगायत खाद्यान्न सामग्री उपलब्ध गराइएको छ। सहयोग सामग्री हस्तान्तरणका लागि एमाले नेता युगराज पाख्रिन, एमाले रामेछाप नगरपालिका–६ नम्बर वडा कमिटीका अध्यक्ष धनबहादुर तामाङलगायतका नेता तथा कार्यकर्ता विकको घरमै पुग्नुभएको थियो। सहयोग सामग्री मृतककी पिता गोपाल विकलगायत परिवारका सदस्यहरूले बुझ्नुभएको थियो।
सामग्री हस्तान्तरण गर्दै एमाले नेता युगराज पाख्रिनले दुःखको यस घडीमा एमाले पार्टी परिवारसँगै रहेको अनुभूति दिलाउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। उहाँले विक परिवारमा परेको दुःखद घटनाले आफूहरूलाई पनि मर्माहत बनाएको उल्लेख गर्नुभयो।
एमाले वडा कमिटी अध्यक्ष धनबहादुर तामाङले पार्टीको नगर कमिटी तथा सम्पर्क मञ्चमार्फत केही रकम संकलन गरी परिवारलाई सहयोग गरिएको बताउनुभयो। उहाँले शोकको यस घडीमा आफूहरू विक परिवारको साथमा रहेको बताउनुभयो। ‘घटना भइसकेको छ, अब यसलाई हामीले सामना गर्नैपर्छ,’ अध्यक्ष तामाङले भन्नुभयो।












प्रतिक्रिया दिनुहोस्