जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार २१:०४

एसएसपी खड्कालाई सोधपुछका लागि मानव अधिकार आयोगले बोलायो


काठमाडौं, असोज १२ । राष्ट्रिय मानव अधिकार आयोगले अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ ।

आयोगले मंगलबार उपस्थित हुने गरी एसएसपी खड्कालाई पत्र पठाएको हो । आयोगका सूचना अधिकारी पवनकुमार भट्टका अनुसार एसएसपी खड्कासहित सम्बन्धित अन्य निकायका अधिकारीलाई पनि सोधपुछका लागि बोलाइएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको समयमा आयोगको टोली आइतबार अनुगमन तथा सोधपुछका लागि पुगेको थियो । तर, आयोगको संवैधानिक तथा कानुनी अधिकार प्राप्त टोलीलाई जबरासँग भेट्न नदिइएपछि आयोगले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।

अनुगमनका क्रममा प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा आयोगको टोलीलाई अनुगमन गर्न नदिइनुको कारणसमेत स्पष्ट जानकारी नदिइएको आयोगले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वेबसाइटमा पनि आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आग्रह गर्दै पछिल्लो प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) मा आयोगले आवश्यकताअनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने व्यवस्था छ । मानव अधिकार संरक्षणका लागि सम्बन्धित निकाय, संस्था वा स्थानमा आवश्यक सुधारका सम्बन्धमा सुझाव तथा निर्देशन दिन सक्ने अधिकारसमेत आयोगलाई रहेको छ ।