विराटनगर, असोज १३ । तास खेलिरहेको आरोपमा पक्राउ परेका विराटनगरका एक व्यक्ति प्रहरी हिरासतमै बेहोस भएपछि गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।
विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालालाई प्रहरीले सोमबार राति तास खेलिरहेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेको थियो ।
मंगलबार बिहान चिया खान उठाउन खोज्दा नबोलेपछि उहाँ अचेत अवस्थामा रहेको खुलेको प्रहरीले जनाएको छ । तत्काल कोशी अस्पताल लगिएका उहाँलाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याइएको छ । उहाँको अवस्था गम्भीर रहेको र अचेत अवस्थामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कोइराला बेहोस भएको थाहा पाएलगत्तै अस्पताल लगिएको हो । चिकित्सकले उहाँको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार कोइरालाको यसअघि दुर्घटनामा परी टाउकाको शल्यक्रिया भएको थियो । उहाँ यसअघि पनि तास खेलिरहेको अवस्थामा पक्राउ पर्नुभएको प्रहरीको भनाइ छ । तर, अहिले उहाँ अचेत हुनुको वास्तविक कारण भने खुलिसकेको छैन ।
विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा कोइरालासहित आठ जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको थियो । प्रहरीको गस्ती टोली देखेपछि तास खेलिरहेका केही व्यक्ति भाग्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले घरको दुई तलामाथिबाट हामफाल्दा दाहिने खुट्टा भाँचिएको छ । एम्बुलेन्स चालकसमेत रहेका उहाँको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था भने खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
कोइराला र मुखियासँगै धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत पनि पक्राउ परेका थिए ।
प्रहरीले उनीहरूको साथबाट तास र ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ । कोइराला र मुखियाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताउनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्