जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार १०:३८

हिमलुङ हिमपहिरो : ११ जना परिवारको सम्पर्कमा, १२ अझै बेपत्ता


काठमाडौं, असोज १४ । मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोबाट जोगिएका ११ जना परिवारको सम्पर्कमा पुगेका छन्।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार हिमालयन होलिडेजका सात र इम्याजिन नेपालका चार जना सकुशल छन्। प्रतिकूल मौसमको पूर्वसूचना पाएपछि उनीहरू आधार शिविरको तल्लो क्षेत्रमा झरेकाले हिमपहिरोबाट जोगिन सफल भएको प्रशासनले जनाएको छ।

हिमपहिरोपछि फर्किएका उनीहरू आइतबार साँझ नार्पाभूमि गाउँपालिकाको फू गाउँ पुगेका थिए। उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

प्रशासनका अनुसार हिमपहिरोमा परेका १२ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये हिमालयन होलिडेजका १० र इम्याजिन नेपालका दुई जना रहेका छन्।

हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव फेला परेको छ। सोमबार घटनास्थल पुगेको उद्धार टोलीले वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको थियो। दुवै जनाको शव मंगलबार चामे ल्याएर हेलिकोप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ।

यसअघि आइतबार छिवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। उहाँहरूको शव पनि सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।