रामेछाप, असोज १५ । आर्थिक वर्ष २०८२/८३ मा रामेछाप जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ प्रमुख अतिथि तथा बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक सतीश विष्ट विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा रामेछाप अस्पतालका प्रमुख डा. सागर जर्घा मगर, सिन्धुली र दोलखा जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका निमित्त प्रमुख दीपक कार्की, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत, आधारभूत अस्पतालका प्रमुख तथा रामेछापका आठवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
त्यस्तै, दोलखाको भीमेश्वर नगरपालिका र सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधि, स्वास्थ्य बिमा दर्ता अधिकारी, तिलगङ्गा सर्जिकल आँखा केन्द्रका प्रमुख, विद्यालय नर्स, प्रधानाध्यापक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

समीक्षा गोष्ठीमा जिल्लाभित्र सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगति, उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा आगामी कार्यदिशाबारे छलफल र समीक्षा गरिएको थियो। साथै, रामेछापसहित छिमेकी जिल्ला सिन्धुली र दोलखाका स्थानीय तह तथा स्वास्थ्य संस्थाले गरेका असल अभ्यास र सिकाइहरू आदानप्रदान गरिएको थियो।
समीक्षाबाट प्राप्त सुझाव तथा अनुभवलाई आगामी वर्षका नीति, कार्यक्रम र योजनामा समावेश गर्दै गुणस्तरीय, प्रभावकारी तथा जनमुखी स्वास्थ्य सेवा प्रवाहमा थप सहयोग पुग्ने विश्वास लिइएको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले बताउनुभएको छ।
कार्यक्रममा जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो।












प्रतिक्रिया दिनुहोस्