रामेछाप, असोज १५ । ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा’ भन्ने राज्यको मूल मर्मलाई व्यवहारमा उतार्दै रामेछापको विकट तथा अन्तिम मानववस्तिका रूपमा रहेको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ।
उमाकुण्ड गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको शिविरमार्फत भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई गाउँमै प्रशासनिक तथा स्थानीय सरकारका विभिन्न सेवा उपलब्ध गराइएको हो। जिल्ला सदरमुकाम तथा गाउँपालिकाको केन्द्रसम्म पुग्न लामो समय र ठूलो खर्च गर्नुपर्ने बाध्यता रहेका स्थानीयवासीलाई आफ्नै घरआँगनमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयाे।
शिविरमा नागरिकता वितरण, राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा वितरण, व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय खारेजी र पालिकास्तरीय योजनाको सम्झौतालगायतका महत्वपूर्ण सेवाहरू एकै थलोबाट प्रदान गरिएको थियो।
शिविरमा नागरिकता सेवाप्रति स्थानीयवासीको विशेष आकर्षण देखिएको थियो। शिविरबाट ७५ जना नागरिकले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ। नयाँ नागरिकता प्राप्त गर्नेमा ६९ जना पुरुष र ६ जना महिला रहनुभएको छ।
त्यसैगरी, नागरिकता हराएका वा बिग्रिएका ५६ जनालाई नेपाली नागरिकताकाे प्रतिलिपि वितरण गरिएको छ। प्रतिलिपि लिनेमा २४ जना पुरुष र ३२ जना महिला रहनुभएको छ।
शिविरका क्रममा स्थानीय १० वर्षीया ज्योति बस्नेतलाई ‘ख’ वर्गको अपाङ्गता परिचयपत्रसमेत प्रदान गरिएको छ। परिचयपत्र प्राप्त भएपछि उहाँलाई राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षा तथा लक्षित सेवा–सुविधा लिन सहज हुने छ।
राष्ट्रिय परिचयपत्रतर्फ ३७ जना नागरिकको विवरण संकलन गरिएको छ भने ५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।
स्थानीय विकास निर्माणका कामलाई समेत सहज बनाउन शिविर स्थलबाटै २४ वटा पालिकास्तरीय योजनाको सम्झौता गरिएको छ। यसबाट विकास निर्माणसँग सम्बन्धित प्रक्रिया पूरा गर्न गाउँपालिकाको केन्द्रसम्म धाउनुपर्ने स्थानीयवासीको बाध्यता कम भएको छ।
आर्थिक तथा व्यावसायिक गतिविधि व्यवस्थापनअन्तर्गत ३ वटा नयाँ व्यवसाय दर्ता, ६ वटा व्यवसायको नवीकरण तथा ४ वटा व्यवसाय खारेजीको कामसमेत शिविरबाटै सम्पन्न गरिएको छ।
विभिन्न प्रशासनिक तथा सेवा प्रवाहका क्रममा शिविरबाट कुल ३२ हजार ५ सय रुपैयाँ राजस्वसमेत संकलन भएको गाउँपालिकाले जनाएको छ।
दुर्गम भौगोलिक अवस्थाका कारण सामान्य सरकारी सेवा लिनसमेत लामो दूरी तय गर्नुपर्ने अवस्थाका बीच गाउँमै एकीकृत रूपमा सरकारी सेवा प्राप्त भएपछि गुम्देलका स्थानीयवासीले खुसी व्यक्त गर्नुभएको छ। शिविरले राज्यका सेवा नागरिकको घरदैलोसम्म पुर्याउने सरकारको अवधारणालाई व्यवहारमा कार्यान्वयन गरेको स्थानीयवासीको भनाइ छ।
गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले पालिकाका अन्य वडाहरूमा समेत क्रमशः यस्ता एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै लैजाने नीति लिएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्