रामेछाप, असोज १५ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले रामेछापमा पार्टीको १५औँ महाधिवेशन तयारीका लागि कार्यालय स्थापना गरेको छ।
देउवा पक्षले रामेछापमा १५औँ जिल्ला अधिवेशन तयारी समितिको कार्यालय स्थापना गरेको हो। कार्यालयको नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले उद्घाटन गर्नुभएको हो।
जिल्ला अधिवेशन तयारी समितिका संयोजक जीतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका नेताहरू कृष्णबहादुर महत, झनक श्रेष्ठ, बेदबहादुर लामा, रामकृष्ण खड्कालगायतको उपस्थिति रहेको थियो।
कार्यालय उद्घाटन गर्दै सभापति तामाङले गगन थापाले आफ्नो ढंगले पार्टी सञ्चालन गर्न खोज्दा अहिलेको अवस्था सिर्जना भएको दाबी गर्नुभयो। उहाँले निर्वाचनका समयमा समेत गगन थापा पक्षले देउवा पक्षसँग पर्याप्त सल्लाह र समन्वय नगरेको बताउनुभयो। त्यसको परिणामस्वरूप नेपाली कांग्रेसले निर्वाचनमा नराम्रो पराजय व्यहोर्नुपरेको उहाँको धारणा थियो।

सभापति तामाङले १५औँ महाधिवेशनका लागि आफूहरूले तयारी सुरु गरिसकेको बताउनुभयो। उहाँले केन्द्रीय समितिले पारित नगरेकै अवस्थामा गगन थापा पक्षले जबरजस्ती विशेष महाधिवेशन गराएको आरोप लगाउनुभयो। उहाँले पार्टीभित्र देखिएको विवादका बाबजुद आफूहरू अझै पनि पार्टी एकताको पक्षमा रहेको बताउनुभयो।
नेपाली कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तय गरिएको छ। पछिल्लो समय देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशन तयारी अघि बढाउँदै विभिन्न जिल्लामा तयारी समिति तथा सम्पर्क कार्यालय स्थापना गर्न थालेको देउवा पक्ष पनि मंसिर २१, २२ र २३ गते काठमाडौँमा आयोजना गर्ने गरी कार्यतालिका तय गरी निर्वाचन आयाेगमा बुझाएकाे छ ।












प्रतिक्रिया दिनुहोस्