रामेछाप, असोज १५ । ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने नाराका साथ ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मन्थली नगरपालिकामा विविध कार्यक्रमसहित मनाइएको छ।
समाजका अनुभवका खजाना, मार्गदर्शक तथा प्रेरणाका स्रोतका रूपमा रहेका ज्येष्ठ नागरिकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उहाँहरूको स्वस्थ, सुखी तथा दीर्घ जीवनको कामनासहित दिवस मनाइएको हो।
जिल्ला ज्येष्ठ नागरिक संघ रामेछापको आयोजना तथा मन्थली नगरपालिकाको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो। संघका अध्यक्ष नारायणदास श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।
दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको तर्फबाट ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिसमेत वितरण गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधिहरू, ज्येष्ठ नागरिक संघका पदाधिकारी तथा सदस्यहरूका साथै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका निमित्त प्रमुख दीपक कार्कीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा चिकित्सालयका चिकित्सक डा. उत्तम गैरेले ज्येष्ठ नागरिकहरूले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो। उहाँले उमेर बढ्दै जाँदा देखिन सक्ने स्वास्थ्यसम्बन्धी समस्याबाट बच्न नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, उचित जीवनशैली तथा शारीरिक सक्रियतामा ध्यान दिनुपर्ने विषयमा जानकारी गराउनुभएको थियो।
ज्येष्ठ नागरिक दिवसले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव अभिवृद्धि गर्नुका साथै उहाँहरूको अनुभव, ज्ञान र योगदानलाई समाजमा सम्मानपूर्वक स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताउनुभएको थियो।












प्रतिक्रिया दिनुहोस्