काठमाडौं, असोज १६ । यस वर्षको मनसुन नेपालबाट बाहिरिने चरणमा पुगेको छ। मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि ठ्याक्कै कहिलेदेखि बाहिरिन्छ भन्ने यकिन गर्न नसकिने मौसमविद्ले बताएका छन्।
मौसमविद्का अनुसार मनसुन देशभरबाट एकैपटक बाहिरिँदैन। पश्चिमी क्षेत्रबाट क्रमशः हट्दै पूर्वी क्षेत्रबाट बाहिरिने गर्छ। नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यस वर्ष असार ५ गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो। त्यसपछि क्रमशः फैलिँदै असार १६ गते देशभर पुगेको थियो।
मनसुन बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई स्थानमा हल्का वर्षा हुनसक्नेछ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान छ।












प्रतिक्रिया दिनुहोस्