जनता टाइम्स

१४ पुष २०७६, सोमबार ०८:४५

बन्ने भयो तीन ठुला जलविद्युत आयोजना, लगानी बोर्डले गर्यो ८५ अर्बको लगानी स्वीकृत


काठमाडौं, पुस १४ । लगानी बोर्डले तीन ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपैयाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना, मस्र्याङ्दी बेसी जलविद्युत आयोजना र माथिल्लो त्रिशुली –३ बी जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत गरेको हो ।

बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । माथिल्लो त्रिशुली १ का लागि ६५ अर्ब, मस्र्याङ्दी बेसीका लागि ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाका लागि आठ अर्ब २२ करोड ७४ लाख रुपियाँ लगानी स्वीकृत गरेको लगानी बोर्डले जनाएको छ । नेपाल वाटर एण्ड इनर्जि डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ । माथिल्लो त्रिशुली २ बी आयोजना नेपाल विद्युत प्राधिकरणमार्फत् निर्माण हुँदैछ ।

त्यसैगरी, बैठकले प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई एकीकृत कृषि परियोजना हस्तान्तरण गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । निर्णय बमोजिम कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश नं ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश नं १ को उर्लाबारी तथा प्रदेश नं २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले ठूला परियोजनाहरु बिना अवरोध कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरुबीच समन्वयको आवश्यकता औंल्याउनुभयो ।