जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार १२:२०

एकीकृत घुम्ती शिविर मार्फत गाउँमै सरकारी सेवा दिँदै उमाकुण्ड गाउँपालिका


रामेछाप, असाेज १७। जिल्लाको विकट तथा अन्तिम मानवबस्तीका रूपमा रहेको उमाकुण्ड गाउँपालिकाले नागरिकलाई गाउँघरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत सरकारी घुम्ती शिविर सञ्चालन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय तथा गाउँपालिकाको आयोजनामा सुरु भएको शिविर गाउँपालिकाका सातवटै वडामा सञ्चालन गरिनेछ।

शिविरको सुरुवात वडा नं. १ गुम्देलबाट भएको हो। गुम्देलमा ७५ जनाले नयाँ नागरिकता र ५६ जनाले नागरिकताको प्रतिलिपि गरी १३१ जनाले नागरिकता सेवा लिएका छन्। त्यस्तै, ३७ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ भने पाँचवटा तयार परिचयपत्र वितरण गरिएको छ। त्यस्तै अपाङ्ता परिचयपत्र पनि वितरण गरिएकाे छ । साथै २४ वटा पालिकास्तरीय विकास योजनाको सम्झौता, तीनवटा नयाँ व्यवसाय दर्ता, छवटा व्यवसाय नवीकरण तथा चारवटा व्यवसाय खारेजीको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

त्यस्तै, वडा नं. २ बाम्तीमा ३४ जनाले नयाँ नागरिकता र ३९ जनाले प्रतिलिपि गरी ७३ जनाले नागरिकता सेवा लिएका छन्। बाम्तीमा राष्ट्रिय परिचयपत्रका लागि ५६ जनाको विवरण सङ्कलन तथा पाँचवटा परिचयपत्र वितरण गरिएको छ। त्यहाँ १९ वटा विकास योजनाको सम्झौता, तीनवटा नयाँ व्यवसाय दर्ता, एकवटा व्यवसाय इजाजत दर्ता, १५ वटा व्यवसाय नवीकरण र तीनवटा व्यवसाय खारेजी गरिएको छ। तीनवटा टोल विकास संस्था पनि दर्ता गरिएको गाउँपालिकाले जनाएको छ।

 गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार विकट भूगोलका नागरिकलाई सामान्य प्रशासनिक कामका लागि सदरमुकाम तथा पालिका केन्द्रसम्म पुग्दा लाग्ने समय र खर्चको बाध्यता हटाउन घुम्ती शिविर सञ्चालन गरिएको हाे। विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिलाई स्थानीयस्तरमै सरकारी सेवा उपलब्ध गराउनु शिविरको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।

गाउँपालिकाका बाँकी पाँचवटै वडामा पनि निर्धारित तालिकाअनुसार शिविर सञ्चालन गरिने जनाइएको छ।