जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार १४:१४

गणित शिक्षकलाई ‘आइटम राइटिङ’ सम्बन्धी अभिमुखीकरण


रामेछाप, असोज १७ । रामेछापमा जिल्लाभरका विद्यालयमा कार्यरत गणित विषयका शिक्षकहरूका लागि ‘आइटम राइटिङ’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मन्थली नगरपालिकाकाे सहयाेग, एलिड पब्लिकेसनसँगकाे सहकार्य तथा  काउन्सिल अफ म्याथमेटिक्स एजुकेसन रामेछापकाे आयोजना र शिक्षा विकास तथा समन्वय इकाइ रामेछापको सहकार्यमा कार्यक्रम भएकाे हाे । 

कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत गणित शिक्षकहरूको सहभागिता रहेको थियो। गणित विषयको प्रश्न निर्माणसम्बन्धी दक्षता अभिवृद्धि गर्दै शिक्षकहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा काठमाडौं महनगरपालिकाका स्रोतव्यक्ति सुशिल खनालले‘आइटम राइटिङ’ सम्बन्धी सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिको सहकार्यबाट शिक्षाको गुणस्तर सुधार गर्न सकिने बताउनुभयो। शिक्षाको गुणस्तर सुधारमा सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षकको नै हुने उहाँको धारणा थियो।

त्यस्तै, शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले विगतको तुलनामा रामेछापको शैक्षिक नतिजामा समग्र सुधार आएको बताउनुभयो। गणित विषयमा अझै पनि विद्यार्थीहरू अनुत्तीर्ण हुने गरेको उल्लेख गर्दै उहाँले गणितलाई ‘हाउगुजी’का रूपमा लिन नहुने बताउनुभयो।

मन्थली नगरपालिका सामाजिक विकास समितिका संयोजक गोपाल श्रेष्ठले सिकाइबाट नयाँ अनुभव प्राप्त हुने भएकाले सिकाइलाई प्रभावकारी बनाउन आफूले पनि निरन्तर सिक्नुपर्ने बताउनुभयो।

काउन्सिल अफ म्याथमेटिक्स एजुकेसन रामेछाप जिल्ला समितिका अध्यक्ष सुरेन्द्र केसीले सबैको सल्लाह र सहकार्यबाट संस्थालाई शिक्षक तथा विद्यार्थीको क्षमता विकासमा केन्द्रित गर्ने बताउनुभयो।

कार्यक्रममा मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. टंकप्रसाद दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक लगायतले पनि धारणा राख्नुभएको थियो।