रामेछाप, असोज १७ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा रामेछापबाट सर्वाधिक मत प्राप्त गर्नुभएका दीपक खड्काले जिल्ला पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
शनिबार महासमिति सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेसँगै खड्काले जिल्ला सभापति पदमा चुनाव लड्ने घोषणा गर्नुभएको हो। हाल जिल्ला कार्यसमितिको सचिवको जिम्मेवारीमा रहनुभएका खड्काले आफ्नो सभापति पदको दाबी स्वाभाविक भएको बताउनुभएको छ।
उहाँले आफूले यसअघि नै जिल्ला सभापतिमा उम्मेदवारी दिने विषयमा बताउँदै आएको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत दिएर पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो दाबीलाई अनुमोदन गरेको बताउनुभएको छ। “म पार्टी सभापतिका लागि उम्मेदवार हुन्छु र सबैको भावनालाई समेटेर पार्टीलाई मजबुत बनाएर लैजान्छु,” उहाँले भन्नुभएको छ।
खड्काले सकेसम्म आफू सर्वसम्मत उम्मेदवार बन्नका लागि पहल गर्ने बताउँदै सर्वसम्मति हुन नसके लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा जाने बताउनुभएको छ।
महाधिवेशन प्रतिनिधिका लागि रामेछापबाट खुलातर्फ ३८ जना उम्मेदवार रहनुभएकोमा खड्काले सर्वाधिक ७ सय ४१ मत प्राप्त गर्नुभएको थियो। उक्त निर्वाचनमा कुल १ हजार ७ सय १३ जना मतदाता सहभागी हुनुभएको थियो।












प्रतिक्रिया दिनुहोस्