जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार २१:११

दोलखामा वडा अध्यक्षविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता


दोलखा, असोज १७ । दोलखामा वडा अध्यक्षविरुद्ध यौन दुर्व्यवहारको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

कालिञ्चोक गाउँपालिका–३ का वडा अध्यक्ष दलबहादुर तामाङविरुद्ध शुक्रबार जिल्ला अदालत दोलखामा मुद्दा दर्ता भएको हो।

वडामा कार्यरत एक महिला कर्मचारीले उहाँविरुद्ध मुद्दा दर्ता गराउनुभएको हो। उहाँले वडा अध्यक्ष तामाङले आफूमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप लगाउनुभएको छ।

दुर्व्यवहारका घटना सहेर बसेको र घटनाबारे गाउँपालिकालाई जानकारी गराउँदा कानुनी उपचार खोज्न सुझाव पाएपछि अदालतमा मुद्दा दर्ता गराएको उहाँले बताउनुभएको छ।

वडा अध्यक्ष तामाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुनुभएको थियो।