जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार ०७:५९

मनसुनी वायुको आंशिक प्रभाव, देशका केही स्थानमा वर्षाको सम्भावना


काठमाडौं, असोज १८ । नेपालमा मनसुनी वायुको आंशिक प्रभावसँगै केही भूभागमा पश्चिमी वायुको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ।

कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकीका थोरै तथा कोशीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका भूभागमा पनि आंशिक बदली रहने सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पहाडी तथा तराई भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका भूभागमा बिहानीपख हुस्सु लाग्न सक्ने सम्भावना छ।

राति मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिमको तराई र मधेसका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।