रामेछाप, असोज १८ । नेपाली कांग्रेस रामेछापका नेता रामचन्द्र खड्काले पार्टीको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
यसअघि नेपाली कांग्रेस रामेछापको जिल्ला सभापतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका खड्का पार्टीभित्र शालीन, भद्र तथा बौद्धिक नेताका रूपमा परिचित हुनुहुन्छ।
खड्काले आफू वि.सं. २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदै आएको उल्लेख गर्दै बदलिँदो राजनीतिक परिवेश र युगअनुकूल पार्टीमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभएको छ।
उहाँले आफ्नो उम्मेदवारीबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, “वि.सं. २०२८ सालदेखि नेविसंघमा संलग्न हुँदै विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदा देखि वि.सं. २०८३ सालको १५औँ महाधिवेशनसम्म आइपुग्दा मैले आफूलाई बदलिँदो युगमा परिपक्व उपस्थितिको आवश्यकता सम्झी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने सोच बनाएको छु।”
खड्काले आफ्नो उम्मेदवारीका सम्बन्धमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सल्लाह र सुझावको अपेक्षा समेत गर्नुभएको छ। “तपाईंहरूको सल्लाह–सुझावका लागि हार्दिक अनुरोध गर्दछु,” उहाँले भन्नुभएको छ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएका खड्का लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ। केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणासँगै उहाँले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका विस्तार गर्ने तयारी गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्