बुटवल, असोज १८ । रुपन्देहीको देवदहमा एक व्यक्तिको घरभित्र पेस्तोल चल्दा एक युवा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–७ का दीपक खरेलको घरमा पेस्तोल देखाउने क्रममा गोली चलेको हो। गोली लागेर २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन्।
प्रहरीका अनुसार खरेलले समातेको पेस्तोलबाट गोली चलेर खत्रीलाई लागेको हो। घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो।
घटनापछि प्रहरीले खरेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घरमा आएका खत्रीलाई पेस्तोल देखाउने क्रममा गोली चलेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्