काठमाडौं, असोज २० । नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन (अपानि) –३ जारी गरेको छ । ललितपुरको भनिमण्डलमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयहरू समेटेर अध्यक्ष केपी शर्मा ओलीले अपानि–३ जारी गर्नुभएको हो ।
अपानिको सारका रुपमा एमालेले नेतादेखि कार्यकर्तासम्मलाई ‘अव नेतृत्वको बिरोध र कामबिहीन भएर चुप बस्ने होइन एकैछिन’ भन्ने मुल मान्यता अघि सारेको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको सारलाई समेटेर जारी गरिएको अपानिमा बिधान संशोधनको बाधा अडकाऊ फुकाउने धारा प्रयाग गरी बरिष्ठ नेताको ब्यवस्था र पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयताको वरिष्ठ नेतामा मनोनीत गरिएको उल्लेख छ ।
यस्तै पार्टीभित्र गुटबन्दी र नेतृत्वको सार्वजनिक आलोचनामा पूर्ण रोक लगाउनेसम्मका निर्णयहरू पनि समावेश छन् । एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीको बिरुद्धमा महासचिव शंकर पोखरेलकै नेतृत्वमा उपाध्यक्ष, उपमहासचिव, सचिव रहेर अभियान चलाएको बिषयलाई गम्भीरताका साथ लिई बैठकअघिका सवै घटनालाइृ आममाफी दिएर अव भने रोक लगाएको छ ।
एमालेले विगतको निर्वाचनमा भोगेको हारको समीक्षा गर्दै पार्टीलाई डिजिटल युग सुहाउँदो र युवा–मैत्री बनाउने घोषणा पनि गरेको छ । अपानिमा पार्टी विधानअनुसार विभिन्न राजनीतिक दलबाट एमालेमा प्रवेश गरेका १३ र पार्टीमा योगदान गरेका २० जना गरी ३३ जना र ७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको उल्लेख छ ।
विगतका ‘आममाफी’, अब कारबाही
एमालेले पार्टीभित्र अनुशासनहीनता, गुटबन्दी र नेतृत्वप्रतिको सार्वजनिक आलोचना बढ्दै गएको भन्दै यसलाई कडाइका साथ रोक्ने निर्णय गरेको छ । बैठकले तेस्रो केन्द्रीय कमिटी बैठकलाई ‘कटअफ’ बिन्दु मान्दै विगतमा जसले जे बोले पनि छुट दिने तर अब उप्रान्त नेतृत्व, नीति र निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा तत्काल कारबाही गर्ने नीतिसहित अघि बढेको अपानिमा उल्लेख छ । यस्तो कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले सङ्गठन विभाग र अनुशासन आयोगलाई दिएको छ ।
आन्तरिक कमजोरीले चुनावमा हार
अपानिमा चुनावमा भोगेको हारको मुख्य कारण बाह्य घेराबन्दी मात्र नभई पार्टीको आन्तरिक कमजोरी भएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो सङ्गठन ठूलो छ, तर जनताको दैनिक जीवनसँग सम्बन्ध पातलो भयो । हामी युवाको भाषामा बोल्न सकेनौँ । आधुनिक सञ्चार र डिजिटल युगमा हामी निकै ढिलो पुग्यौँ ।’
विपक्षीले डिजिटल प्लेटफर्ममार्फत फैलाएको भ्रम (जस्तै मौन अवधिमा बीबीसीले प्रसारण गरेको डकुमेन्ट्री) लाई समयमै चिर्न नसकेको र स्थानीय मुद्दालाई सम्बोधन गर्न नसक्दा चुनावमा क्षति पुगेको एमालेको निष्कर्ष छ ।
युवा पुस्तान्तरण र मिसन पार्टी जागरण अबको बाटो
एमालेले पार्टीलाई नयाँ जीवन दिन ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’ को नीति अघि सारेको छ । नेतृत्व हस्तान्तरण भावनात्मक रूपमा ‘बा हटाऊ, छोरा ल्याऊ’ भन्ने नाराको आधारमा नभई विधि, सङ्घर्ष र योग्यताको आधारमा हुने स्पष्ट पारिएको छ । अब एमालेले युवाहरूलाई सङ्गठनको सजावट मात्र नबनाई नीति निर्माण र निर्णायक तहमा पुर्याउने सङ्कल्प पनि गरेको छ ।
सो कामका लागि ‘मिसन पार्टी जागरण’ सुरु गरिएको र सङ्गठनलाई नतिजामुखी बनाउन वडा तहसम्मै जनताका समस्या समाधानमा केन्द्रित हुने निर्देशन दिइएको छ । यस्तै आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), डिजिटल अर्थतन्त्र र गिग इकोनोमी जस्ता आधुनिक विषयमा पार्टीको धारणा स्पष्ट पार्ने नीति पनि लिइएको छ ।
बालेन सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति
अपानिमा वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै २२ वटा समसामयिक प्रस्ताव पारित गरिएको उल्लेख छ । सरकारले अघिल्लो सरकारका मन्त्री र पूर्वप्रधानन्यायाधीशलाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेको, सुकुम्बासीमाथि डोजर चलाएको र ट्रेड युनियन तथा विद्यार्थीका अधिकार खोस्न खोजेको भन्दै एमालेले भत्र्सना पनि गरेको छ ।
साथै, भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढी र प्राकृतिक विपत्तिमा सरकारको उद्धार र राहत कार्य अत्यन्तै कमजोर र गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।






































प्रतिक्रिया दिनुहोस्