जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार १५:१०

कांग्रेसमा युद्ध सकियो, तर कृष्ण कहाँ छन ?


देउवा अदालतमार्फत हराएर गगनले कांग्रेस जितेका हुन् कि केवल नेतृत्व जितेका हुन ? अबको असली परीक्षा यही हो । अतीतलाई अपमान गरेर बनाइएको सुध्रिएको कांग्रेस कति नयाँ हुन्छ, र युद्धपछि निर्माण गर्ने कृष्णको चेत कांग्रेसमा कसले बोकेको छ ?

गणेश बस्नेत

सवैभन्दा पुरानो दल नेपाली कांग्रेस यतिबेला इतिहासको असहज मोडमा उभिएको छ । एकातिर गगन थापाको नेतृत्वमा नयाँ पुस्ताले सुध्रिएको कांग्रेस भन्दै आफूलाई कांग्रेसको नयाँ अध्यायका रूपमा स्थापित गर्न खोजिरहेको छ । अर्कोतिर शेरबहादुर देउवा कांग्रेसको पुरानो राजनीतिक विरासत बोकेर समानान्तर बाटोमा उभिएका छन् ।

कोइराला परिवारका शीर्ष नेताको नेतृत्वबाट बिदाईसँगै पार्टीमा एकछत्र राज गर्दै आएका देउवाको शक्ति क्षिण बन्न पुग्दा १५औँ महाधिवेशन अघि पार्टीभित्रको शक्ति सन्तुलन फेरिएको छ । देउवाका केही प्रभावशाली नेताहरू थापा नेतृत्वको संस्थापनतिर आएका छन जस्ले देउवाले बिश्वासपात्रहरूबाटै धोका पाएका दृष्यलाई सतहमा ल्याईदिएको छ ।

यी दृष्यहरूलाई केवल ‘पुरानो विरुद्ध नयाँ’ भनेर बुझ्नु कांग्रेसको अहिलेको संकटलाई अत्यन्तै सानो बनाएर हेर्नु हो । किनकि प्रश्न देउवा र गगनको मात्र होइन । कांग्रेसले अतीतसँग कस्तो व्यवहार गर्छ र भविश्यको मार्ग कस्तो बनाउँछ भन्ने मुल प्रश्न हो ।

मेटिन्न देउवाको इतिहास

गगन थापा नयाँ पुस्ताको प्रतिनिधि हुन् । उनले कांग्रेसको नेतृत्व परिवर्तनको मुद्दालाई लामो समयदेखि अघि बढाए । पुसमा त विशेष महाधिवेशन गरेर उनी सभापति बने, अहिले उनकै नेतृत्वमा १५औँ महाधिवेशनको बन्दशत्र चलिरहेको छ । यो राजनीतिक परिवर्तन हो । तर परिवर्तनको अर्थ इतिहासको हत्या होइन ।

१४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवामाथि प्रश्न उठाउन पाइन्छ । अझ उठाउनुपर्छ । उनको लामो राजनीतिक यात्राको समीक्षा हुनुपर्छ । कांग्रेसको वर्तमान अवस्थाका लागि देउवाको नेतृत्वकाल कति जिम्मेवार छ भन्ने बहस हुनुपर्छ । देउवा कांग्रेसबाहिरबाट आएका पात्र होइनन, उनी कांग्रेसकै इतिहासबाट आएका नेता हुन् ।

कांग्रेसका संघर्ष, विभाजन, पुनर्मिलन, सत्ता आरोह–अवरोह र लोकतान्त्रिक यात्राका अनेक पानामा देउवाको नाम लेखिएको छ । त्यसैले देउवाको राजनीतिक मूल्याङ्कन गर्न सकिन्छ, तर उनलाई इतिहासबाट डिलिट गर्न सकिँदैन । नेतृत्व हत्याउन सफल भएपनि गगनहरूले चाहेर पनि यो काम गर्न सम्भव छैन ।

इतिहास कुनै मोबाइलको फाइल होइन, जहाँ मन नपरेपछि डिलिट गरिदिने । यही कुरा गगन थापासहितका छोराछोरीलाई साथमा राखेर ‘बाआमालाई डोकोमा बोकेर लगेर भीरबाट हुत्याइदिने’ सुध्रिएको नयाँ कांग्रेस’ पुस्ताले बुझ्न सकिरहेको छैन ।

आफ्नै घोषणा गगनको चुनौती

गगन थापाले कांग्रेसलाई बदल्ने घोषणा गरिरहेका छन् । यो घोषणा त्यति सहज भने छैन । उनको अठोट अब भाषणको विषय मात्र रहेन । उनी मुल नेतृत्वमा छन् । १५औँ महाधिवेशन उनकै नेतृत्वमा अघि बढिरहेको छ । यतिबेला बन्दशत्र चलिरहेको छ । उनको राजनीतिक प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा पद र सत्तालाई प्राथमिकता दिएको, गुटबन्दी र भागबन्डाको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर पारेको तथा युवासँग पार्टीको दूरी बढेको आत्मसमीक्षा रहेको छ ।

गगनको यो आत्मसमीक्षा महत्वपूर्ण छ । तर आत्मसमीक्षा त्यतिबेला मात्र राजनीतिक रूपान्तरण बन्छ, जब त्यसले व्यवहार बदल्छ । अब गगनसँग एउटा सजिलो बाटो छैन । देउवालाई दोष दिएर उम्किने ठाउँ सकिएको छ । किनकि अब कांग्रेसको नेतृत्व गगनसँग छ । अब कांग्रेस बिग्रियो भने पुरानो नेतृत्वलाई दोष दिएर उम्कन सकिदैन । अब निर्णय गगनले गर्नेछन् । अब संगठनको चरित्र गगनको नेतृत्वले देखाउनेछ । अब गुटबन्दीको शैली गगनकै नेतृत्वले जाँचिनेछ ।

अब कांग्रेस जनतासँग कति जोडिन्छ भन्ने प्रश्नको उत्तर पनि नयाँ नेतृत्वले दिनुपर्नेछ । तर महाधिवेशनमा रातारात प्रतिनिधिको नाम नै बदलेर गगन नेतृत्वले ‘सुध्रिएको कांग्रेस’ को काष्टिङ देखाइरहेको छ । त्यसैले देउवालाई विस्थापित गर्नु गगनको पहिलो परीक्षा थियो, त्यो सफल भए तर देउवालाई विस्थापित गरेपछि कांग्रेसलाई कस्तो बनाउँछन् भन्ने दोस्रो र ठूलो परीक्षा हो ।

गगनमाथि प्रश्न गर्नुको अर्थ देउवा प्रश्नमुक्त छ भन्ने होइन । विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गर्दै समानान्तर महाधिवेशनतर्फ अघि बढ्ने देउवा पक्षको रणनीतिले कांग्रेसको विभाजनको प्रष्ट तस्विर देखाएको छ । देउवाले गगन नेतृत्वको संरचनालाई अवैधानिक भन्दै संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन अपिल नै गरेका थिए । उनको अपिल पुराना र इतिहास बोकेका सजैजसो नेताले माने पनि ।

यहाँ देउवासँग पनि एउटा कठोर प्रश्न छ–यदि आफूले बनाएको कांग्रेसको विरासत जोगाउने हो भने त्यो विरासतलाई विभाजनको सीमासम्म किन पुर्याउने ? राजनीतिमा पराजय आउँछ, नेतृत्व जान्छ, पद जान्छ, समय बदलिन्छ । तर एउटा नेताले आफ्नो राजनीतिक जीवनको अन्तिम अध्याय कसरी लेख्छ भन्ने कुरा पदमा बसेर होइन, पद गइसकेपछि देखिन्छ ।

यो मुल कुराबाट नै देउवा बिचलित बनेको देखिएको छ । देउवाको आजको चुनौती यही हो । उनी कांग्रेसका पूर्वसभापति मात्र होइनन्, ६ पटकसम्म प्रधानमन्त्री बनेका हस्ती हुन । कांग्रेसको एउटा युगका प्रतिनिधि पनि हुन् । त्यसैले उनको राजनीतिक निर्णयले केवल उनको व्यक्तिगत भविष्य होइन, कांग्रेसको ऐतिहासिक विरासतसँग उनको सम्बन्धसमेत निर्धारण गर्नेछ ।

महाभारत सकियो, हस्तिनापुर बाँकी छ

कांग्रेसको पुराना र नयाँको युद्धमा यहीँनेर महाभारत सम्झनुपर्छ । युद्ध भयो, पाण्डवले जिते–कौरव हारे । तर युद्धपछि कृष्णले पाण्डवलाई भनेनन, ‘अब हस्तिनापुरमा कौरवको नाम मेट ।’ उनले युद्धको विजयलाई राज्य निर्माणमा बदल्न खोजे । युधिष्ठिरको अगाडि सिंहासन थियो । तर सिंहासनभन्दा ठूलो प्रश्न थियो, ‘अब राज्य कसरी चलाउने ?’ धृतराष्ट्रसँग अतीत थियो, तर अतीतको मोहले उनलाई विनाशमा पुर्यायो । युधिष्ठिरसँग वर्तमान थियो, तर युद्धको पीडाले उनलाई कमजोर बनायो । कृष्णसँग भविष्यको दृष्टि थियो । त्यसैले कृष्णले युद्ध जित्नुभन्दा ठूलो कुरा सिकाए, ‘युद्धपछि निर्माण गर्नुपर्छ ।’

आज कांग्रेसको अवस्था ठीक त्यस्तै छ । गगनले एउटा राजनीतिक युद्ध जितेका छन् । निर्वाचन आयोगदेखि न्यायालयसम्म मिलाएर गगन अघि बढदा देउवा एउटा राजनीतिक संघर्षमा पछाडि परेका छन् । तर अब के ? हस्तिनापुर बाँकी छ अर्थात् कांग्रेस बाँकी नै छ । कार्यकर्ता बाँकी नै छन, लाखौँ समर्थक बाँकी छन, जनताको विश्वास बाँकी छ । र कांग्रेसको भविष्य बाँकी छ । तर यी सवै आशाका किरणलाई अतितको अपमान र बर्तमानको अनदेखाले पूरा गर्न सक्दैन भन्ने चेत गगन र देउवा दुवै समुहतिर हुनुपर्छ । तर घटनाक्रमले देखिएको छैन भन्ने मत नै बलियो बन्छ ।

कुर्सी खाली राखेर इतिहास भरिँदैन

१५औँ महाधिवेशनको उद्घाटनमा देउवाका लागि कुर्सी राखिएको र उनलाई आउन आग्रह गरिएको तर नआएको भदै गगनले बोले । यो कुरा आफैंमा एउटा राजनीतिक सन्देश हो । गगनले देउवालाई ‘सम्मान’का साथ सहभागी गराउन चाहेको बताए । तर एउटा कुर्सी खाली राख्नु पर्याप्त छैन । राजनीतिमा सम्मान कुर्सीले होइन, संस्कारले देखिन्छ ।

यदि देउवालाई सम्मान गर्ने हो भने उनको राजनीतिक विरासतलाई तथ्यसहित मूल्याङ्कन गर्नुपर्छ–गल्ती छन् भने भन, उपलब्धि छन् भने स्वीकार । कमजोरी छन् भने सच्याऊ । तर इतिहासलाई अपमान गरेर नयाँ कांग्रेस निर्माण गर्न खोज्नु राजनीतिक परिपक्वताको प्रमाण होइन । त्यस्तै देउवाले पनि बुझ्नुपर्छ, ‘सम्मान मागेर मात्र पाइँदैन ।’ सम्मानको अन्तिम परीक्षा पदमा होइन, संक्रमणको क्षणमा हुन्छ ।

गगन–देउवा संघर्षको असली अर्थ

यो संघर्षलाई दुई व्यक्तिको झगडा मात्र मान्नु गलत हुन्छ । यो कांग्रेसभित्रको पुस्तान्तरण भर्सेज विरासतको संघर्ष हो । कोतपर्कमार्फत सत्ता लिने होडको कथा पनि मान्नुपर्छ । कांग्रेसमा सदैव षडयन्त्रबाट नै नेतृत्व प्राप्त हुने इतिहास रहेको छ । त्यही कथाबीच अहिले नयाँ पुस्ता भन्छ, ‘हामीलाई नयाँ कांग्रेस चाहिन्छ ।’

अर्कोतिर पुरानो पुस्ता भन्छ, ‘हामीले बनाएको कांग्रेसलाई विस्थापित गरेर नयाँ कांग्रेस बन्न सक्दैन ।’ दुवै पक्षमा आ–आफ्ना प्रश्न छन् । तर दुवैले एउटा कुरा बुझ्नुपर्छ, ‘कांग्रेस कसैको निजी कम्पनी होइन ।’ न देउवाको, न गगनको, न कुनै गुटको । यो हजारौँ नेता–कार्यकर्ताको दशकौँको संघर्षबाट बनेको संस्था हो । त्यसैले कुनै एक पक्षले सम्पूर्ण कांग्रेसको स्वामित्व दाबी गर्नु इतिहासमाथिको अन्याय हुनेछ ।

अब ताली होइन, परिणाम

कांग्रेस नेतृत्वमा पुगेका गगनले परिवर्तनको भाषा त बोलेका छन् तर ब्यवहार उस्तै छन । अब परिणाम देखाउनुपर्ने समय आएको छ भन्ने उनको भाषा ब्यवहारमा झल्किरहेको छैन । उनको आफ्नै राजनीतिक प्रतिवेदनले कांग्रेसको विगतका कमजोरीहरू स्वीकार गरेको छ ।

स्वभाविक रुपमा प्रश्न उठछ– के त्यो आत्मसमीक्षा संगठनमा देखिन्छ ? के कांग्रेसभित्र गुटको ठाउँमा संस्था बलियो हुन्छ ? के टिकट वितरणमा नयाँ मापदण्ड बन्छ ? के नेतृत्वमा पारदर्शिता आउँछ ? के युवा केवल नारा र भीडका लागि प्रयोग हुने होइन, निर्णय प्रक्रियाको वास्तविक हिस्सेदार बन्छ ? के कांग्रेस फेरि जनताको घरमा पुग्छ ? यदि यी प्रश्नको उत्तर आउँदैन भने गगनको नेतृत्व केवल पुरानो नेतृत्वको विस्थापनमा सीमित हुनेछ । र इतिहासले त्यसलाई परिवर्तन भन्ने छैन ।

इतिहासले सोध्नेछ–‘देउवालाई कू गरेपछि कांग्रेसमा के बदलियो ?’ देउवालाई पनि इतिहासले यही प्रश्न सोध्नेछ, ‘तपाईंले दशकौं लगाएर बनाएको कांग्रेसलाई संक्रमणको क्षणमा किन एउटै घरभित्र राख्न सक्नुभएन ? सत्ता र संगठनभन्दा ठूलो पार्टी थियो कि थिएन ? नेतृत्वभन्दा ठूलो संस्था थियो कि थिएन ? यदि कांग्रेस तपाईंको राजनीतिक घर हो भने, घरको एउटा कोठा तपाईंलाई मन परेन भन्दै अर्को घर बनाउनुपर्ने अवस्था किन आयो ?’ यी प्रश्नबाट देउवा पनि भाग्न सक्दैनन् । किनकि इतिहासले कसैलाई स्थायी छुट दिँदैन ।

महाधिवेशनले यो कुरा गर्ला कि नगर्ला ? यही प्रश्नमा यस्को भविश्य जोडिएको छ । यो कुरा कांग्रेसीजनले बुझ्छन कि बुझ्दैनन ? यसैले यो पार्टीको आगामी यात्रा तय हुनेछ । बुझेनन भने प्रधानमन्त्री बालेनले रातमा लेखेजस्तै फगत एउटा नयाँ पार्टी हुनेछ बिरासत गुमाएको फगत एउटा जमातका रुपमा

कांग्रेसलाई कृष्ण चाहिएको छ, अर्जुनको अहंकार होइन

महाभारतको सबैभन्दा ठूलो शिक्षा यही हो–युद्धमा अर्जुन चाहिन्छ । तर युद्धपछि कृष्णको बुद्धि चाहिन्छ ।’ कांग्रेसलाई पनि संघर्ष गर्ने नेता चाहिन्छ । तर अहिले त्यसभन्दा बढी जोड्ने नेतृत्व चाहिएको छ । गुट जित्ने नेता होइन, संस्था बनाउने नेता चाहिएको छ । विपक्षीलाई समाप्त पार्ने रणनीति होइन, विपक्षीलाई संस्थाभित्रै प्रतिस्पर्धी बनाउने लोकतान्त्रिक संस्कार चाहिएको छ । अतीतलाई गाली गर्ने आवाज होइन, अतीतबाट सिकेर भविष्य बनाउने विवेक चाहिएको छ । त्यो विकेक कहाँ छ ? यही नै गगनका लागि मुल प्रश्न हो । जवाफ ब्यवहारले दिनुपर्छ ।

आफूलाई जितेर देखाउने चुनौती

गगनले देउवालाई हराए, त्यो एउटा राजनीतिक घटना हो । देउवाले आफ्नो समूह बचाए भने त्यो अर्को राजनीतिक घटना हुनेछ । तर कांग्रेसले आफूलाई बदल्न सक्यो भने मात्र त्यो ऐतिहासिक घटना हुनेछ । अहिले कांग्रेसभित्रको सबैभन्दा ठूलो भ्रम यही हुन सक्छ, ‘एउटा पुस्तालाई विस्थापित गरेपछि अर्को पुस्ता स्वतः महान् हुन्छ । सत्य र इतिहासले त्यसो भन्दैछ, भन्छ– हुँदैन ।’ नयाँ अनुहारले पुरानो संस्कार बोकेर आयो भने कांग्रेस उही हुन्छ । पुरानो अनुहारले नयाँ सोच ल्यायो भने पनि कांग्रेस बदलिन सक्छ ।

त्यसैले पुस्ता मात्र होइन, राजनीतिक चरित्र बदलिनुपर्छ । कांग्रेसले अब आफ्नो अतीतसँग युद्ध बन्द गर्नुपर्छ । देउवाले पनि आफ्नो विरासतलाई विभाजनको हतियार बनाउन बन्द गर्नुपर्छ । गगनले पनि परिवर्तनको नाममा इतिहासलाई अपमान गर्ने कुनै ठाउँ बाँकी राख्नु हुँदैन । किनकि देउवा कांग्रेसको अतीत हुन् । गगन कांग्रेसको वर्तमान हुन् । तर कांग्रेसको भविष्य दुवैभन्दा ठूलो प्रश्न हो ।

महाभारतको युद्धमा कृष्णले अर्जुनलाई युद्ध गर्न लगाए । तर युद्ध सकिएपछि उनले हस्तिनापुरलाई फेरि युद्धमा धकेलेनन् । कांग्रेसले पनि अब यही पाठ सिक्नुपर्छ । १५औँ महाधिवेशन कसले जित्यो भन्ने कुरा केही वर्षपछि बिर्सिन सकिन्छ । तर महाधिवेशनपछि कांग्रेसले आफूलाई कति बदल्यो भन्ने कुरा इतिहासले बिर्सने छैन । र यदि नयाँ कांग्रेसले पुरानो कांग्रेसलाई केवल गाली गरेर आफ्नो जन्म घोषणा गर्यो भने इतिहासको फैसला कठोर हुनेछ–त्यो कांग्रेसले अतीतलाई पराजित गरेको होइन, अतीतको अपमानमा आफ्नै भविष्य गुमाएको हुनेछ ।

कुर्सी जित्नु नेतृत्व होइन । गुट जित्नु विजय होइन । पुरानोलाई हटाउनु परिवर्तन होइन । साँचो विजय त त्यतिबेला हुनेछ, जब गगनको कांग्रेसले देउवाको कांग्रेसभन्दा ठूलो, व्यापक, लोकतान्त्रिक र जनतासँग जोडिएको कांग्रेस बनाएर देखाउनेछ । त्यो दिन मात्र भन्न सकिनेछ–युद्ध सकियो, हस्तिनापुर बाँचेको छ । र अब कांग्रेस निर्माण हुँदैछ ।

महाधिवेशनले यो कुरा गर्ला कि नगर्ला ? यही प्रश्नमा यस्को भविश्य जोडिएको छ । यो कुरा कांग्रेसीजनले बुझ्छन कि बुझ्दैनन ? यसैले यो पार्टीको आगामी यात्रा तय हुनेछ । बुझेनन भने प्रधानमन्त्री बालेनले रातमा लेखेजस्तै फगत एउटा नयाँ पार्टी हुनेछ बिरासत गुमाएको फगत एउटा जमातका रुपमा ।