जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १९:३९

आन्तरिक वायुसेवा कम्पनी सस्तो दरमा टिकट बेच्न सहमत


काठमाडौं, असोज २२ । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरअनुसार सस्तो दरमा टिकट बिक्री तथा वितरण गर्न सहमत भएका छन्।

चाडपर्वको समयमा हवाई भाडा बढाइएको भन्दै गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले चासो देखाएका थिए। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो।

छलफलपछि वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरको न्यूनतम दरमा टिकट बिक्री तथा वितरण गर्न सहमत भएका क्यानले जनाएको छ।

२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण गरिएको थियो।

यात्रुको चाप बढेका बेला कम्पनीहरूले सोही आधारमा अधिकतम भाडा लिँदै आएका छन्। पछिल्लो समय चाडपर्वलाई लक्षित गरी हवाई भाडा बढाइएको गुनासो आएपछि क्यानले कम्पनीहरूसँग छलफल गरेको हो।