जनता टाइम्स

१ कार्तिक २०८३, आइतबार २०:२८

राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते


काठमाडौं, कात्तिक १ । बडादसैँको सार्वजनिक बिदाका कारण राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित भएको छ । यस वर्षको पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।

विगतका वर्षमा कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष दसैँको सार्वजनिक बिदाका कारण सारिएको हो ।

कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

सरकारले बालबालिकालाई कुपोषण तथा अन्य स्वास्थ्य समस्याबाट जोगाउन हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । दोस्रो चरणको कार्यक्रम वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ ।

स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्न अभिभावकलाई तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरिएको छ ।