जनता टाइम्स

५ कार्तिक २०८३, बिहिबार १९:०६

साउदीमा ड्रोन आक्रमणको नेपालद्वारा निन्दा, विवादको शान्तिपूर्ण समाधानमा जोड


काठमाडौं, कात्तिक ५ । साउदी अरेबियामा भएको ड्रोन आक्रमणप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेको छ। नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी हुने सबै प्रकारका आक्रमणको भर्त्सना गर्दै विवादको शान्तिपूर्ण समाधानमा जोड दिएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको सन्देशमा नेपालले संवाद, वार्ता र कूटनीतिक संलग्नतामार्फत विवाद समाधान गर्न निरन्तर आह्वान गर्दै आएको जनाएको छ। मन्त्रालयले भनेको छ, ‘नेपाल सधैँ संवाद, वार्ता र कूटनीतिक संलग्नतासहितका माध्यमबाट विवादहरूको शान्तिपूर्ण समाधान गर्न निरन्तर आह्वान गर्दछ।’

मन्त्रालयले घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

साउदी अरेबियाको सेबा आयल फिल्डमा बुधबार भएको ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको थियाे। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।

साउदी ऊर्जा मन्त्रालयका अनुसार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। तर, ड्रोनको भग्नावशेष खस्दा आयल फिल्ड परिसरबाहिर रहेको ठेकेदारको गाडीमा आगलागी भएको थियो। सोही घटनामा चार कामदार हताहत भएका हुन्।

पछिल्ला केही हप्तायता यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गर्दै आएका छन्।