जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १४:३८

भारतमा अर्नब चक्रवातको वितण्डा : आन्ध्र प्रदेशमा ६ हजार विद्युत् खम्बा ढले, जनजीवन प्रभावित


काठमाडौं, कात्तिक ११। भारतको आन्ध्र प्रदेशमा अर्नब चक्रवातले वितण्डा मच्चाउँदा हजारौँ विद्युत् खम्बा ढलेका छन् भने विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको छ । तीव्र हावाका कारण रुखहरू जरैसहित उखेलिएका छन् । चक्रवातको प्रभावले जनजीवन, यातायात र सञ्चारसँग सम्बन्धित सेवासमेत प्रभावित भएका छन् ।

बीबीसी तेलुगुका अनुसार बुधबार बिहान चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको हो । भारतीय मौसम विभागका अनुसार यानमको दक्षिणतर्फ बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा चक्रवात प्रवेश गर्दा हावाको अधिकतम गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो ।

चक्रवातको सबैभन्दा ठूलो असर विद्युत् संरचनामा देखिएको छ । अधिकारीहरूका अनुसार कोनासीमा जिल्लामा मात्रै करिब ६ हजार विद्युत् खम्बा ढलेका छन् । खम्बा ढलेपछि प्रभावित क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने सेवा पुनः सञ्चालन गर्न चुनौती थपिएको छ ।

आन्ध्र प्रदेशका ऊर्जामन्त्री गोट्टिपति रविकुमारले चक्रवातको प्रभाव कम भएको २४ घण्टाभित्र सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास गरिने बताएका छन् । 

यसैबीच, यानम क्षेत्रमा भारी वर्षाका कारण विभिन्न स्थान जलमग्न भएका छन् । चक्रवात तटमा प्रवेश गर्नुअघि नै विशाखापट्टनमसहित राज्यका विभिन्न क्षेत्रमा तीव्र हावा चलेको थियो । हावाको वेगका कारण रुख र विद्युत् खम्बा ढलेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित भएको छ ।

प्रतिकूल मौसमलाई ध्यानमा राख्दै दक्षिण मध्य रेलवेले आन्ध्र प्रदेश र ओडिशा हुँदै सञ्चालन हुने विभिन्न रेलसेवा रद्द गरिएको सम्बन्धमा अद्यावधिक सूचना जारी गरेको छ । रेलसेवा अवरुद्ध हुँदा यात्रुहरूलाई समेत असुविधा भएको छ ।

अधिकारीहरूले चक्रवातको प्रभाव अझै दुई दिनसम्म रहन सक्ने अनुमान गरेका छन् । त्यसलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा सतर्कता अपनाइएको छ ।