काठमाडौं, कात्तिक ११ । सरकारले भोटेकोशी विपद्बाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि झन्डै ६ खर्ब ३४ अर्बदेखि ६ खर्ब ४१ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ ।
राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले प्रारम्भिक पुनर्स्थापनाका लागि मात्रै तत्काल ५७ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ७ अर्ब ६९ करोड रुपैयाँ आवश्यक रहेको जानकारी दिनुभयो ।
सरकार एक्लैले आवश्यक रकम जुटाउन नसक्ने भएकाले अन्तर्राष्ट्रिय ‘लस एन्ड ड्यामेज फन्ड’बाट २० मिलियन अमेरिकी डलर अर्थात् झन्डै २ अर्ब ७० करोड रुपैयाँ प्राप्तिका लागि प्रस्ताव पेस गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले विपद्बाट प्रभावित ४९ वटै वडामा कृषि, पशुपक्षी, जमिन र जैविक विविधतामा भएको क्षतिको विस्तृत विवरण मन्त्रालयसँग माग गर्नुभएको छ ।
मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसान सूचीकरण र उत्पादकत्वका आधारमा क्षतिको अन्तिम मूल्याङ्कन भइरहेको र विवरण चाँडै समितिलाई बुझाइने बताउनुभयो ।
समितिले कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्ने कार्यतालिका बनाएको छ ।














प्रतिक्रिया दिनुहोस्