जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १५:३५

‘अर्नब’ चक्रवातको असर नेपालका पाँच प्रदेशमा, भारी वर्षा र हिमपातको सम्भावना


काठमाडौं, कात्तिक ११ । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि देखिने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । चक्रवात नेपाल नजिक आइपुग्दा कमजोर हुने अनुमान गरिए पनि वर्षा र हिमपातको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसमविद्हरूका अनुसार चक्रवातको प्रभाव लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पर्न सक्नेछ । यी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । बिहीबारदेखि यसको प्रभाव देखिन सक्ने र शुक्रबार तथा शनिबार तुलनात्मक रूपमा बढी असर पर्ने अनुमान छ ।

मौसमविद् विभूति पोखरेलका अनुसार भारतको विशाखापट्टनम नजिक जमिनमा ठोक्किएको चक्रवात नेपाल आइपुग्दा निकै कमजोर भएर न्यूनचापीय क्षेत्रका रूपमा रहने सम्भावना छ । यद्यपि, यसको सम्भावित मार्ग नेपालतर्फ रहेकाले सतर्कता आवश्यक रहेको उहाँले बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बिहीबार रातिदेखि शनिबारसम्म उच्च सतर्कता अपनाइएको जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिएको छ ।

भारतको मौसम विभागका अनुसार ‘अर्नब’ चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्दा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलेको थियो । यसको प्रभाव भारतका आन्ध्र प्रदेश र ओडिशासहित विभिन्न राज्यमा पर्ने अनुमान गरिएको छ ।

‘अर्नब’ नाम बंगलादेशले प्रस्ताव गरेको हो । बंगाली भाषामा यसको अर्थ ‘महासागर’ वा ‘समुद्र’ हुन्छ । उत्तरी हिन्द महासागरमा विकसित हुने उष्णकटिबन्धीय चक्रवातको नामकरणका लागि १३ देशले प्रस्ताव गरेका नामको सूची प्रयोग गरिन्छ ।