जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १५:३०

सङ्खुवासभामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


सङ्खुवासभा, कात्तिक ११ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी थर्पुमा श्रीमतीको कुटपिटबाट हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख कुमारप्रसाद मैनालीका अनुसार ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले मादक पदार्थ सेवन गरी ४९ वर्षीया श्रीमती मिङ्माछिकी शेर्पालाई कुटपिट गरेको आरोप छ । उनी घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी नुनढाकीबाट प्रहरी सहायक निरीक्षक विष्णुबहादुर कटवालको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले आरोपित तेम्बालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखेको जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक परशुराम राईको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ ।

मृत्युको कारण र घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।