जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १४:४९

भुजी लिग सुरु : उपाधि जित्ने टोलीले १ लाख ४८ हजारभन्दा बढी पुरस्कार पाउने


रामेछाप, कात्तिक ११ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा फुटबलको प्रतिस्पर्धा सुरु भएको छ । स्थानीयस्तरमा खेलकुदको विकास र युवा प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘भुजी लिग २०८३’ को नयाँ संस्करण सुरु भएको हो ।

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले अमृत घाम छाया फुटबल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नुभएकाे हाे । उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोग तथा फुटबल क्लब भुजीको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा रामेछाप, दोलखा र ओखलढुङ्गाका गरी १५ टोली सहभागी छन् ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद १ लाख ४८ हजार ८ सय २८ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टोलीले ७४ हजार ८ सय २८ रुपैयाँ पाउनेछ । सेमिफाइनलमा पुग्ने टोलीलाई पनि जनही १८ हजार २ सय २८ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित पुरस्कृत गरिनेछ ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुनुवारले खेलकुदले स्थानीय युवाको प्रतिभा उजागर गर्नुका साथै गाउँपालिकाको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे। उहाँले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे । 

गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष रुद्रमणि नेवारले भुजीको खेलमैदान सुधारका लागि गाउँपालिका र वडा कार्यालयले काम गरिरहेको बताउनुभयाे। उहाँले मैदान सुधारको कामलाई यस वर्ष पनि निरन्तरता दिइने जानकारी दिए ।

स्थानीयस्तरमा फुटबलको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि र आपसी भाइचारा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फुटबल क्लब भुजीले जनाएको छ ।

कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल सोही दिन हुनेछ । फाइनलसँगै यस वर्षको भुजी लिगको च्याम्पियन टोलीको टुङ्गो लाग्नेछ ।