रामेछाप, कात्तिक ११ । रामेछापको मन्थली नगरपालिका–८, चिसापानीमा प्याराफिटसहितको आधुनिक खेलमैदान निर्माण भएपछि पहिलोपटक अन्तरवडास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
मन्थली नगरपालिका–८ वडा कार्यालयको आयोजनामा कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा रामेछाप जिल्लाका सम्पूर्ण वडाबाट टिम दर्ता गरी खेलाडीहरूले सहभागिता जनाउन सक्ने वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टिमले एक लाख रुपैयाँ र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो।
स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडाहरूबीच आपसी सम्बन्ध र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
चिसापानीमा निर्माण गरिएको प्याराफिटसहितको खेलमैदान यसै वर्ष वडा कार्यालयको पहलमा जनसहभागिता जुटाएर निर्माण गरिएको हो। खेलमैदान निर्माणका लागि मन्थली नगरपालिका तथा स्थानीय नागरिकले समेत सहयोग गरेका थिए।
आधुनिक सुविधासहितको खेलमैदान निर्माण भएपछि स्थानीयस्तरमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। प्रतियोगिताले रामेछाप जिल्लामा भलिबल खेलको विकास र खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।
यसको साथै चिसापानीको ऐतिहासिक तथा सांस्कृतिक पहिचान उजागर गर्न पनि यसले सहयोग गर्ने विश्वास लिइएको छ । खेलकुद मार्फत पर्यटन विकासको लागि सहयोग पुर्याउने उद्देश्य प्रतियोगिताको रहेको उहाँले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्