काठमाडौं, कात्तिक ११ । नेपालीहरूको महान चाड बडादशैं तथा लहरै आउने ठूला पर्वहरूका कारण देशभर रगतको तीव्र अभाव देखिएको छ । चाडपर्व मनाउन मानिसहरू आफ्ना घर–गाउँतर्फ लागेसँगै नियमित रक्तदान कार्यक्रमहरू हुन नसक्दा अस्पतालहरूमा रगतको सङ्कट चुलिएको हो ।
रगतको अभावका कारण विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरूले यतिबेला ठूलो सास्ती भोग्नुपरेको छ । आकस्मिक दुर्घटनाका घाइते, सुत्केरी, क्यान्सर तथा नियमित रगत फेर्नुपर्ने बिरामीहरूका लागि अति आवश्यक मानिएको रगत नपाउँदा धेरैजसो बिरामीको अत्यावश्यक अप्रेशन (शल्यक्रिया) समेत रोकिन पुगेको छ ।
रगत अभाव चुलिँदा आफ्ना मान्छे बचाउनका लागि रगत खोज्न आफन्तहरू पोका–पन्तुरोसहित रक्तसञ्चार केन्द्रहरूमा भौँतारिन बाध्य छन्। यसै अवस्थालाई मध्यनजर गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका जनसम्पर्क अधिकृत (PRO) सन्देश थापाले संस्थानले यो सङ्कट समाधानका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभएको छ ।
‘चाडपर्वको समयमा रक्तदान कार्यक्रमहरू कम हुने भएकाले रगतको अभाव हुनु स्वाभाविक जस्तै बने पनि हामी यो समस्या समाधान गर्न अथक प्रयास गरिरहेका छौं । बिरामी र तिनका आफन्तले भोग्नुपरेको यो कठिन परिस्थितिलाई ध्यानमा राख्दै हामीले आपतकालीन रक्तदान र विभिन्न निकायहरूसँग समन्वय गरिरहेका छौं । छिट्टै नै यो समस्याको समाधान हुनेछ,’ पिआरओ प्रमुख थापाले भन्नुभयो ।
यस्तो छ अपिल
रक्तदान : एउटा सानो प्रयास, कसैको पूरा जीवन !
चाडपर्वको खुसी मनाइरहँदा अस्पतालका शय्यामा जीवन र मृत्युको दोसाँधमा लडिरहेका बिरामीहरूको मुस्कान फर्काउने जिम्मेवारी हामी सबैको हो । हाम्रा लागि ३५० देखि ४५० मिलिलिटर रगत दान गर्नु सामान्य कुरा हुन सक्छ, तर रगतको पर्खाइमा रहेका बिरामीका लागि यो नयाँ जीवनको उपहार हो ।
तपाईंको ३० मिनेटको समयले ३ जनाको जीवन बचाउन सक्छ एक पटकको रक्तदानबाट निकालिने ’होल ब्लड’बाट रातो रक्तकोष (च्द्यऋ), प्लाज्मा र प्लेटलेट्स छुट्ट्याएर तीन फरक बिरामीको ज्यान जोगाउन सकिन्छ ।
रक्तदान स्वास्थ्यका लागि पनि फाइदाजनक : रक्तदान गर्नाले शरीरमा नयाँ र ताजा रक्तकोषहरू बन्ने प्रक्रिया तीव्र हुन्छ, मुटुको स्वास्थ्य सुधारिन्छ र शरीर सन्तुलित रहन्छ।
सर्वश्रेष्ठ पुण्यः चाडपर्वमा अरूलाई सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म र खुसी हो।
यस कठिन परिस्थितिमा सम्पूर्ण जनमानसमा नजिकैको केन्द्रीय रक्तसञ्चार सेवा (रेडक्रस) वा सम्बन्धित ब्लड बैंकमा पुगेर रक्तदान गरिदिनुहुन हार्दिक अपिल गरिन्छ ।
“तपाईंले दिएको रगतको एक थोपाले कसैको दसैँ र तिहारको खुसी जोगाउन सक्छ। आउनुहोस्, रक्तदान गरौँ, जीवन बचाऔँ!“














प्रतिक्रिया दिनुहोस्