जनता टाइम्स

६ माघ २०७६, सोमबार २०:००

ओसाका बन्द गरेर नारिता उडान भर्दै नेपाल वायुसेवा निगम


काठमाडौं, माघ ६

नेपाल वायुसेवा निगमले जापानको नारिता विमानस्थलबाट उडान थाल्ने भएको छ । ओसाका उडानबाट अपेक्षित फाइदा नभएपछि त्यसलाई बन्द गरेर फागुन १९ गतेदेखि नारिता विमानस्थलबाट उडान भर्न लागेको हो ।

नारिता राजधानी टोकियो नजिकैको विमानस्थल हो । ओसाका उडानका लागि निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याप)सँग ग्राउण्ड ह्यान्डलिङको सम्झौंता गरिसकेको छ भने कन्ट्री म्यानेजरका रूपमा सुलेख मिश्रलाई नियुक्त गरिसकेको छ ।

ओसाका टोकियो भन्दा टाढा रहेकाले नेपालीका लागि अपायक थियो । नारिता टोकियो नजिकै पर्ने भएकाले नेपालीहरूका लागि सहज विमानस्थल हो । टोकियो वरपर धेरै नेपाली बस्ने भएकाले नारिता उडान निगमका लागि वित्तीय हिसाबले राम्रो हुने अपेक्षा गरिएको छ । निगमले जनरल सेल्स एजेन्ट(जीएसए) नियुक्त नगरि धेरैबाट टिकट बिक्री गर्न पीएसए नियुक्त गरेको हो ।

लामो दूरीमा उडान गर्ने गरि निगमले ल्याएको जहाज अहिले छोटो दूरीमा उडान भरिरहेको छ । भारत, मलेसिया र दुबइ लगायतका छोटो दूरीमा निगमले उडान भर्दा त्यसबाट आर्थिक रूपमा फाइदा पाउन सकेको छैन । निगमले काठमाडौं–नारिता उडानका लागि एकतर्फी भाडादर ४० हजार रूपैयाँ र दुईतर्फी भाडादर ८० हजार रूपैयाँ तोकेको छ । निगमले फागुनदेखि सोमबार, बुधबार र शुक्रबार काठमाडौंबाट नारिता सीधा उडान गर्नेछ । दुईतर्फी उडानको समय १४ घण्टा लाग्नेछ ।