जनता टाइम्स

१३ माघ २०७६, सोमबार ०७:३०

पानी पर्ने प्रणाली फेरि सक्रिय : मङ्गलबारभन्दा बुधबार धेरै पानी पर्ने


काठमाडौं, माघ १३ । मङ्गलबारदेखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ । उहाँका अनुसार यो प्रणालीले मङ्गलबारभन्दा बुधबार धेरै पानी पार्नेछ । मौसमविद् प्रधानाङ्गका अनुसार मङ्गलबार दिउँसो देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बादल लाग्नेछ भने तराईमा लागेको हुस्सु दिउँसोपछि मात्रै हट्ने सम्भावना छ ।